निर्वाचन आचारसंहिताको मस्यौदा तयार

elecation commition 1काठमाडौं, ११ असार । निर्वाचन आयोगले आगामी संविधानसभा चुनावका लागि प्रस्तावित आचारसंहिताका विषयमा छलफल सुरु गरेको छ । आचारसंहिताको प्रस्तावित मस्यौदामाथि आयोगले सोमबार सरकारका सचिवहरूसित छलफल गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावको कार्यतालिका बनिसकेको अवस्थामा त्यससँग सम्बन्धित आचारसंहितालाई कसरी पूर्णता दिने भन्नेबारे सरोकारवालासित छलफल सुरु गरिएको बताए ।
प्रमुख आयुक्त उप्रेतीले आगामी ४ मंसिरका लागि घोषित संविधानसभा चुनाव कसरी सफल बनाउने भनेर आयोगले तयार पारेको प्रस्तावित मस्यौदा, निर्वाचन कार्यतालिका, हालसम्मको उपलब्धि र भोलिका दिनमा कसरी जाने भन्नेबारेमा छलफल र राय लिइएको बताए ।
आयोगले प्रस्ताव गरेको आचारसंहितामा प्रत्यक्ष उम्मेदवारले १० लाख र समानुपातिक उमेदवारले एक लाख रुपियाँसम्म प्रचारप्रसारमा खर्च गर्न पाउने उल्लेख छ । आचारसंहिता उल्लंघन गरेमा निर्वाचन ऐनअनुसार उम्मेदवारी स्वत: रद्द हुने र ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावित आचारसंहितामा निर्वाचन प्रयोजनका लागि हेलिकोप्टर र हवाइजहाज सकेसम्म प्रयोग गर्न नपाइने र गर्नै परे पनि चार्टर गर्न नपाइने, भित्तेलेखन, तुलब्यानर प्रयोग गर्न नपाइने, मतदातालाई प्रभाव पार्ने गरी भोजभतेर गर्न नपाइने उल्लेख छ ।
आचारसंहिता उल्लंघन गरेमा आयोगको ऐनअनुसार एक लाख रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको बताउँदै निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अघिल्लो संविधानसभा निर्वाचन तथा विभिन्न देशको अभ्यासलाई आधार मानेर बढी व्यावहारिक हुने किसिमको आचारसंहिता बनाउन लागिएको बताए ।
आयोगले मंगलबार राजनीतिक दल र अन्य सरोकारवाला निकायसँग छलफल गर्ने उनले बताए ।

प्रतिक्रिया