आइजिपी राना र डिआइजीहरूबीच वाक्युद्ध

nepal_policeकाठमाडौं, ११ असार । सरकारले केही दिनअघि गरेको २२ डिआइजी सरुवा नियमावलीविपरीत भएको भन्दै नेपाल प्रहरीका १० डिआइजीले आइजिपी कुबेरसिंह रानासमक्ष आक्रोश पोखेका छन् ।

सोमबार दिउँसो डिआइजीहरू गणेशराज राई, पार्वती थापा, विमला थापा, केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ, केशबहादुर शाही, प्रकाशसिंह थापालगायत १० जनाले आइजिपी रानाको कार्यकक्षमै पुगेर आक्रोश व्यक्त गरेका हुन् । उच्च स्रोतका अनुसार आइजिपी राना र डिआइजीहरूबीच सरुवाको विषयलाई लिएर भनाभन नै भएको थियो । नियमावली मिचेर सरुवाको सिफारिस गृह मन्त्रालयमा पठाएको भन्दै सबै डिआइजी खनिएपछि आइजिपी राना चुप भएका थिए ।
विशेषगरी डिआइजीहरू उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाहको सरुवाप्रति उनीहरूले चर्को असन्तुष्टि जनाएका थिए । अहिलेसम्म क्षेत्र नपाएका सिनियर डिआइजी हुँदाहुँदै अर्याल, भण्डारी र शाहलाई दुई–दुईपटक क्षेत्रीय प्रमुख दिएको भन्दै डिआइजीहरूले आक्रोश व्यक्त गरेको स्रोतले जनाएको छ ।
क्षेत्रीय प्रमुख नपाएका सिनियर डिआइजीहरू प्रतापसिंह थापा, केशबहादुर शाही, गोपाल भण्डारी, केशव अधिकारी र हेमन्त मल्ल हुन् भने जुनियर तहका डिआइजीहरू नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल, बमबहादुर भण्डारी र श्याम खड्काले क्षेत्रीय इन्चार्ज पाएका छैनन् ।
आइजिपी रानाले डिआइजी सरुवाका लागि सफारिस गर्दा प्राकृतिक न्यायको सिद्धान्तविपरीत कसैलाई काखा र कसैलाई पाखाको नीति लिएकोप्रति डिआइजीहरूले विरोध जनाएका छन् । सरुवामा गरिएको यस्तो नीतिले संगठनलाई गम्भीर संकटमा पार्ने चेतावनी डिआइजीहरूबाट आएपछि आइजिपी रानाले सम्झाउने प्रयास गरेका थिए ।
उच्च स्रोतका अनुसार आइजिपी रानाले ‘सरुवालाई त्यसरी नबुझौँ’ भन्दै असन्तुष्ट डिआइजीहरूलाई फकाउने प्रयास गरेका थिए । ‘आइजिपीले सरुवालाई त्यसरी गलत रूपमा नबुझौँ भन्नुभयो । उहाँबाट असन्तुष्टलाई सम्झाउने प्रयास भयो,’ स्रातले भन्यो ।
क्षेत्रीय प्रमुखहरूको मनोबल गिर्नेगरी सातै महिनामा गरिएको सरुवाप्रति पनि डिआइजीहरूले असन्तुष्टि पोखेका थिए । स्रोतका अनुसार जवाफमा आइजिपी
रानाले ‘चुनाव गराउने उद्देश्यले सरुवा गर्नुपरेको’ भन्दै आक्रोशलाई मत्थर पार्ने प्रयास गरेका थिए । तर, ‘सात महिनासम्म क्षेत्रीय कमान्ड सम्हालेका डिआइजीहरूचाहिँ निकम्मा हुन् ?, अहिलेसम्म क्षेत्रीय इन्चार्ज नपाएका डिआइजीहरूले कामै गर्न नसक्ने हुन र ?’ भन्दै डिआइजीहरू आइजिपीसित झोक्किएका थिए । त्यसपछि भने पछि आइजिपी राना चुप लागेका थिए ।
प्रहरी उच्च स्रोतका अनुसार अहिले सरुवा भएर गएका डिआइजीहरूले भन्दा यसअघि क्षेत्र सम्हालेका डिआइजीहरूले चुनावमा राम्रोसँग सुरक्षा दिन सक्छन् । अहिले सरुवा भएर गएका डिआइजीहरूलाई क्षेत्र बुझ्नै समय लाग्ने भएकाले चुनावमा सुरक्षाको व्यवस्था मिलाउन नसक्ने स्रोतको तर्क छ ।
‘सात महिनादेखि कमान्ड सम्हालेका डिआइजीहरूले सबै वातावरण बुझिसकेका छन् । भर्खरै सरुवा भएर गएका डिआइजीहरूलाई वातावरण बुझ्नै तीन/चार महिना लाग्छ । यस्तो स्थितिमा शान्तिसुरक्षाको रणनीति बन्नै सक्दैन । बने पनि सतही बन्छ । सतही शान्तिसुरक्षाको भरमा कसरी चुनाव सम्भव हुन्छ ?’ स्रोतले भन्यो ।

प्रतिक्रिया