विषालु च्याउ खाँदा गाउँ नै बिरामी

देउखुरी, १० असार । विषालु च्याउ खाँदा देउखुरीको एउटा सिंगो गाउँ नै बिरामी परेको छ । जिल्लाको काभ्रे–१ पुरुङ्गका १२ वर्षीय बालकको मृत्यु भएको छ । त्यस्तै, लालमटीया–९ पिरखुटीस्थित ६ जनाको एउटा परिवार अस्पताल भर्ना भएका छन् । शनिबार राति विषालु च्याउको तरकारी खाएका जिल्लाका छुट्टा–छुट्टै स्थानका सर्वसाधारण सिकिस्त बिरामी भएको घटना आइतबारबाहिर आयो । विषालु च्याउ खाँदा काभ्रे–१पुरुङ्गका १२ वर्षीय विशाल खड्काको मृत्यु भएको छ । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेला–२ गनेरीया गाउँका अधिकांश मानिस बिरामी परेका छन् । गाउँ नै बिरामी परेपछि राति बिरामी ओसार्न पनि समस्या परेको थियो । दुईवटा एम्बुलेन्समा बिरामी अस्पताल पुर्‍याइएको थियो । त्यस्तै लालमटीया–९ पिरखुट्टीका ६५ वर्षीय रुद्रबहादुर कुमालको ६ जनाको परिवार सिकिस्त बिरामी परेको छ । अहिले बेला र लालमटीया गाविसका गरी १४ जनाको अस्पतालमा उपचार भइरहेको छ । बिरामी पर्नेहरूमा बेला–२ गनेरीयाकी ६० वर्षीया रमा पुलामी, १६ वर्षीया सिर्जना पुलामी, १८ वर्षीय मानबहादुर पुलामी, ६० वर्षीय यादव घर्ती र नाम खुल्न नसकेकी उनकी श्रीमती, १२ वर्षीय पेरी वुढामगर, ८ वर्षीय खेम घर्ती, १४ वर्षीय खड्कबहादुर बुढामगर, ३३ वर्षीय जितबहादुर घर्ती बिरामी परेका छन् ।
त्यस्तै लालमटीया–९ पिपरखुट्टीकी १९ वर्षीया शोभा कुमाल, ६२ वर्षीय कृडा कुमाल, २२ वर्षीय विष्णु कुमाल, ६५ वर्षीय रुद्रबहादुर कुमाल, १८ वर्षीया सुशीला कुमाल विषाल च्याउ खाँदा सिकिस्त बिरामी परेका हुन् । ‘जंगलबाट ल्याएको विषालु च्याउ खाँदा गाउँ नै बिरामी भएको छ,’ वडा प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपालले भने, ‘जंगलमा च्याउ उम्रने सिजन भएकाले धेरै जसो जंगलमा च्याउ खोज्न जाने र तरकारी बनाएर खाने गरेको पाइयो ।’ च्याउ नचिन्दा परिवारका सबै सदस्य र एउटा गाउँ नै बिरामी परेको छ । सिकिस्त बिरामी जति सबै अस्पताल भर्ना छन् । नजिककैको जंगलबाट ल्याएको विषालु च्याउ साँझ पकाएर खाएका उनीहरू राति नै बिरामी परेका थिए । उनीहरूलाई प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा प्राथमिक उपचारपछि थपउपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही लगिएका वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख महेन्द्र नेपालले बताए ।
पानीमा डुब्दा दुई नाबालकको मृत्यु
देउखुरीमा आइतबार पानीमा डुबेर दुई नाबालकको मृत्यु भएको छ । सिसहनिया–८ बस्ने सुवास चौधरीका २१ महिनाका छोरा सुरज चौधरी र सोही ठाउँ निवासी सरद चौधरीका दुई वर्षका छोरा अरुण चौधरीको डुबेर मृत्यु भएको वडा प्रहरी कर्यालय लमहीका प्रमुख महेन्द्र नेपालले जानकारी दिए । घरनजिकै खेल्ने क्रममा उनीहरू कुलोमा खसेको र कुलोमा रहेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया