फौजी किराले मकै खेती सखाप

दाङ : दाङका विभिन्न स्थानमा किसानले लगाएको मकैखेती फौजी किराले सखाप पारेको छ । यहाँका बिजौरी, मानपुर, टरिगाउँ, हलवारलगायत गाविस र तुलसीपुर नगरपालिकाका विभिन्न वडामा गरी करिब सात सय बिघा क्षेत्रफल जग्गामा किसानले लगाएको मकै फौजी किराले खाई सखाप पारिदिएपछि किसान चिन्तित बनेका हुन् ।
जेठमा मकै रोपेर अन्त्यतिर गोडमेल सुरु गरेका थियौँ । तर, फौजी किराले सबै खाइदियो, त्यसपछि दोस्रोपटक मकै रोप्यौँ अहिले पनि सबै खाइदियो तुलसीपुर नगरपालिका–६ का रामु चौधरीले बताए ।
त्यसैगरी, मानपुर गाविसकी सावित्रा पुनले पनि पहिलोपटक रोपेको मकै फौजी किराले खाएर सखाप पारेपछि दोस्रोपटक रोप्याँै अहिले पनि सो किराले केही राखेको छैन । उनले अब मकै नरोप्ने बताए । सुरुमा किराले मकै खान थालेपछि स्थानीय एग्रोबाट किरा मार्नका लागि औषधि ल्याएर मकैमा हाले पनि किरा भने नमरेको उनको भनाइ छ ।
उनको करिब दुई बिघा जग्गामा लगाइएको मकै सबै किराले खाइदिएको छ । रामु र सावित्रा मात्र होइन यहाँका धेरै किसान अहिले फौजी किराको आतंकबाट चिन्तित भएका छन् । यहाका धेरै किसानले रोपेको मकैमा फौजी किराको यति खेर प्रकोप देखिएको छ ।
ती किसानले उचित राहत दिनसमेत कृषि विकास कार्यालय दाङलाई आग्रह गरेका छन् । यता, कृषि विकास कार्यालय दाङले पनि जिल्लामा फौजी किराको प्रकोप बढेको स्वीकार गरेको छ । कार्यालयले जिल्लामा किसानले विभिन्न स्थानमा गरेको सात सय बिघा जग्गामा लगाइएको मकै बालीमा क्षति पुगेको जनाएको छ ।
कार्यालयका वरिष्ठ कृषि अधिकृत राममिलनप्रसाद विश्वकर्माले किरा मार्नका लागि कार्यालयमा सम्पर्क गरेर मात्र विषादी प्रयोग गर्न सबै किसानलाई अनुरोध गरे । कार्यालयले किराको प्रकोप देखिएको ठाउँको स्थलगत अनुगमन गरिरहेका किसानलाई भेटी उनीहरूलाई सरसल्लाह दिने क्षति भएका किसानका लागि बीउसम्म अनुदान गर्न सकिने विश्वकर्माले बताए । केही दिनदेखिको लगातार वर्षाका कारण किराको प्रकोप नियन्त्रण गर्न भने सजिलो हुने उनको भनाइ छ ।

प्रतिक्रिया