विभिन्न माग राख्दै बाढीपीडितहरू आन्दोलित

बर्दिया, ९ असार । राहत वितरणमा सरकारले आफूहरूलाई वेवास्ता गरेको भन्दै राजापुर क्षेत्रका बाढीपीडितहरूको आज बसेको भेलाले विभिन्न मागहरू राख्दै आन्दोलनको घोषणा गरेका छन् ।

भेलाले बाढीपीडितहरूलाई ६ महिनासम्म पुग्ने अन्नको तत्कालै व्यवस्था गर्नु पर्ने, किसानलाई धानको बिऊ निशुल्क प्रदान गर्नु पर्ने, पीडितलाई विना धितो १ लाख रूपौँया ऋण दिने व्यवस्था गर्नु पर्ने लगायतका १० बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । यसैगरि, राजापुरस्थित खाद्यसंस्थानको धान, चामल अन्यत्र बिक्रि वितरण नगरी बाढीपीडितलाई वितरण गर्नु पर्ने, बाढी प्रभावित क्षेत्र पाताभारदेखि दौलतपुरहुँदै राजापुरसम्म र गोलादेखि खैरीचन्दनपुरसम्म कर्णाली नदीमा तटवन्धनका लागि आगामी आर्थिक वर्ष २०७०/०७१को बजेटमा आवश्यक रकम छुट्याउनु पर्ने लगायतका माग गरेका छन् ।
बाढीपीडितहरूको भेलाले रंजन शाहको संयोजकत्वमा १२ सदस्यीय बाढीपीडित संघर्ष समितिसमेत गठन गरेको छ । १५ असारसम्म आफना तत्कालिन मागहरू पुरा नभए कडा आन्दोलनमा उत्रने निर्णय गर्दै पीडितहरूले आन्दोलनका कार्यक्रमसमेत सार्वजनीक गरेका छन् ।
माग पुरा नभए असार १६ गते राजापुरस्थित इलाका प्रशासन कार्यालयलगायत राजापुर क्षेत्रका सबै सरकारी कार्यालय तालाबन्दी गर्ने, १८ गते बर्दिया जिल्ला बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम रहेको संघर्ष समितिका सदस्य लक्ष्मण ढुंगानाले बताए ।

प्रतिक्रिया