नक्कली नोटका कारोबारी पक्राउ

काठमाडौं, ९ असार । नक्कली भारतीय रुपियाँ कारोबारमा मुछिएका लाजिम्पाटस्थित शिखर मेनपावर कम्पनीका सञ्चालक अनुराज प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग दरबारमार्गबाट खटिएको प्रहरी टोलीले प्रधानलाई शनिबार बिहान बालुवाटारस्थित नेपाल बैंक लिमिटेडअगाडिबाट पक्राउ गरेको हो ।

गत वैशाखमा एक करोड नक्कली भरतीय रुपियाँसहित पक्राउ परेका नेपाली नागरिक मोहम्मद नुरउल्लाह र पाकिस्तानी नागरिक फारूक शेष मोहम्मदले बयानका क्रममा प्रधानलाई पोलेपछि प्रहरीले निगरानीमा राखेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले प्रधानमाथि नक्लली भारतीय रुपियाँ कारोबारमा अनुसन्धान हुने बताए । उनले भने, ‘उनलाई हामीले अहिले अरू नै उजुरीका आधारमा पक्राउ गरेका छाँै । तर, अनुसन्धान भने नक्कली भारतीय कारोबार सम्बन्धमा हुन्छ ।’
प्रधान बैंकअगाडि रहेको कफी पसलमा चिया पिइ रहेको अवस्थामा थिए । पक्राउ गर्न पुगेको प्रहरी निरीक्षक कुमुद ढुंगेलका अनुसार पक्राउ गर्ने आदेश भएपछि उनलाई पक्राउ गरिएको हो । उनले भने, ‘पक्राउ गर्ने आदेश थियो । उनी बालुवाटारमा रहेको खबर आयो । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।’
प्रधानलाई पक्राउ गर्नुको मुख्य उद्देश्य नक्कली भारतीय रुपियाँ कारोबारमा अनुसन्धन गर्नकै लागि भए पनि पक्राउ पुर्जी भने भन्सार छलीको बनाइएको थियो । अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट उनलाई पक्राउ गर्नका लागि पुर्जी बनाइएको थियो । भन्सार छलेर आयात गरिएको गाडी प्रयोग गरिएको भन्ने आशय पक्राउ पुर्जीमा उल्लेख छ । परिसरका डिएसपी सिंहले प्रधानलाई भन्सारले काटेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको बताए । उनले भने, ‘ भन्सार छलेर ल्याइएको गाडी प्रयोग गरेको भन्ने पक्राउ पुर्जीमा छ । अहिले हामीले उनलाई त्यही आधारमा पक्राउ गरेका हौँ । तर, अनुसन्धान भने नक्कली भारतीय रुपियाँ कारोबारकै केसमा हुन्छ ।’
कतार एअरवेजको क्युआर ३५१ नम्बरको उडानबाट पाकिस्थानको कराँचीबाट दोहा हुँदै त्रिभुवन विमानस्थलबाट भित्र्याइएको एक करोड नक्कली भारतीय रुपियाँ लिने क्रममा नुरउल्लाहलाई पक्राउ गरिएको थियो । बयानका क्रममा उनले यस करोबारमा नेपाली तेक्वान्डो संघका कोषाध्यक्ष रवि सिंहलाई पोल्नुका साथै नक्कली भारतीय रुपियाँ नेपाल भित्र्याउने सबै योजना प्रधानकै मेनपावर कम्पनीमा भएको बताएका थिए । रविलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, प्रधानलाई भने पक्राउ गरिएको थिएन । यसअघि प्रधान चोरीकै गाडी प्रयोग गरेको अभियोगमा पक्राउ परिसकेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसपी रमेश खरेलले पक्राउ गरेका थिए । उनलाई चोरीको बिएमडब्लु कारसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया