६ सचिवको सरुवा

काठमाडौं, ८ असार । सरकारले विभिन्न मन्त्रालयमा कार्यरत छ सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूलाई क्षमताअनुसारको जिम्मेवारी दिने भन्दै सरुवा गरेको हो ।

बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव केशवप्रसाद भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । अख्तियारको सचिव हुन भट्टराईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग पटकपटक भेट गर्दै आएका थिए । त्यसैगरी, सुदूपश्चिम क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई रक्षा मन्त्रालयमा ल्याइएको छ ।
रक्षासचिव तिलकराम शर्माले अवकाश पाउन लागे पनि उनको स्थानमा पाण्डेलाई ल्याइएको हो । यद्यपि शर्माको अवकाश अवधिसम्म उनी सुदूपश्चिम क्षेत्रीय प्रशासककै रूपमा काम गरिरहनेछन् । शिक्षा सचिव सोमलाल सुवेदीलाई विज्ञान तथा प्रविधि, निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगोलाई शिक्षा, महालेखाका नरेन्द्र दाहाललाई निर्वाचन आयोगमा र मध्यपश्चिम क्षेत्रीय प्रशासक उद्धव बाँस्कोटालाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले सीमा सुरक्षालगायत कामका लागि सशस्त्र प्रहरीमा ३ हजार २ सय ४६ दरबन्दी थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका लागि चिनियाँ सरकारले प्रदान गर्ने ३ अर्ब ६० लाख सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, बैठकले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका लागि विश्व बैंकले दिन लागेको २ अर्ब ५२ करोड रुपियाँ सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । साथै, बैठकले केन्द्रीय बाल कल्याण समितिको कार्यकारी निर्देशकमा तारक धिताललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया