बोल्ने पालो जनताको : ज्ञानेन्द्र

ganedraजनकपुर, ७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले महोत्तरीको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठ र जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेका छन्  । पूर्वराजा ज्ञानेन्द्र साहले राजपरिवारको गुरुद्वारा रहेको मटिहानीस्थित लक्ष्मीनारायण मठमा पुगेर मठ अवलोकन गर्दै मठमा रहेका लक्ष्मीनारायण, तसमैया बाबा र हनुमानजीको धार्मिक विधिअनुसार पूजाअर्चना गरेका थिए ।
पूर्वराजा शाह मटिहानी आइपुग्दा उनलाई मठका मानमहन्थ जगरनाथ दास वैष्णवलगायत स्थानीयले बाजागाजाका साथ भव्य स्वागत गरेका थिए ।
राजालाई फूलमाला लगाउन मटिहानीका स्थानीय घन्टौँसम्म लामबद्ध भएर बसेका थिए भने उनलाई हेर्न मटिहानी गाउँनजिक र भारत बिहारको मधवापुरलगायत गाउँबाटसमेत हजारौँ मानिस मटिहानी आइपुगेका थिए ।
त्यस अवसरमा मठमै आयोजित कार्यक्रममा मटिहानी मठका मानमहन्थ वैष्णवले पूर्वराजा शाहलाई दोसल्ला र अभिनन्दनपत्र चढाएका थिए ।
धार्मिक यात्राकै क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराजाले आफ्नो भ्रमणको उद्देश्य नितान्त धार्मिक रहेको बताए । आफ्ना कुरा आफूले जनकपुरमा नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै पूर्वराजाले अब जनताले बोल्ने समय आएको बताए ।
ऐतिहासिक एवं पौराणिक महत्त्व बोकेको लक्ष्मीनारायण मठको दर्शनपछि जलेश्वरनाथ मन्दिर पुगेका पूर्वराजा ज्ञानेन्द्रले भगवान भोलेनाथको दर्शनपश्चात् पूजापाठ गरेर आफ्ना शुभचिन्तकसँग सामान्य भलाकुसारीसमेत गरेका थिए ।
पूजा अवधिभर राजाका समर्थकले ‘राजा आऊ, देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै चर्को नाराबाजी गरेका थिए । जनकपुरबाट जिपमै राजाको सवारी भएकाले बाटोमा यत्रतत्र नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया