पाच सय होस्टल प्रहरी निगरानीमा

काठमाडौं, ५ असार । राजधानीका होस्टल लागुऔषध दुव्र्यसनीको अखडा बन्दै गएको आशंकामा प्रहरीले छापा मारेको छ । लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार राजधानीका पाँच होस्टलमा छापा मारेको हो । छापा मारिएकामध्ये तीनवटा ब्वाइज होस्टल छन् भने बाँकी गल्र्स होस्टल छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ७ बजेदेखि शंखमूलस्थित काठमाडौं बोइज होस्टल, शान्तिनगरस्थित नवसोर्निम सन्सार बोइज होस्टल, मैतीदेवीस्थित मैतीदेवी बोइज होस्टल, न्यू प्लाजास्थित दिदी–बहिनी गल्र्स होस्टल र न्युप्लाजाकै ओम गल्स होस्टलमा छापा मारिएको हो । छापामा परेका होस्टलबाट भने लागुऔषध दुव्र्यसनी कोही पनि फेला परेनन् ।
ब्युरोका एसएसपी रणबहादुर चन्दका अनुसार पछिल्ला दिनमा पक्राउ परेकामध्ये धेरैजसो लागुऔषध दुव्र्यसनी प्लस टु अध्ययनरत विद्यार्थी रहेको पाइएपछि होस्टलमा छापा मारिएको हो । एसएसपी चन्दले भने, ‘हामीले पछिल्लो दिनमा पक्राउ गरेकामध्ये पाँच–सात जना दुव्र्यसनी प्लस टुका विद्यार्थी भेटिए । उनीहरू सबै होस्टलमा बस्ने हुन् ।’
ब्युरोले राजधानीको पाँच सय होस्टललाई निगरानीमा राखेको छ । त्यसमध्ये ५२ होस्टल हिटलिस्टमा छन् ।
राजधानीमा झन्डै ५ सय होस्टल छन् । होस्टलमा आकस्मिक अनुगमन गरिने डिआइजी चन्दले बताए । ‘यो अभियान आगामी दिनमा जारी रहन्छ,’ उनले भने, ‘यदि कही कसैले लागुऔषध प्रयोग गरेको जानकारी छ भने हामीलाई जानकारी गराउन अनुरोध गर्छौं ।’
उनका अनुसार पछिल्लो समय ठमेल क्षेत्रसहित बसपार्क तथा थानकोटसहितका नाकामा पनि निगरानी बढाएको छ ।

प्रतिक्रिया