पश्चिमको पीडाले पोलेको छ

King-Gyanendra-Shaha-Xरौतहट, ५ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिममा बाढी–पहिरोले गरेको धनजन र मानवीय क्षतिले आफूलाई पोलिरहेको बताएका छन् । त्यहाँका जनताका लागि आफूले भगवान्सित प्रार्थना गरिरहेको उनले बताए ।

‘सूदूरपश्चिममा आएको प्राकृतिक प्रकोपले म दु:खी बनेको छु, मैले गरेका पूजामा सूदूरका जनताका लागि भगवान्सँग प्रार्थना गरेको छु,’ पूर्वीजिल्ला भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले पत्रकारसित भने । पश्चिमलाई पीडाले पोलेको भन्दै उनले त्यहाँका जनतालाई तत्काल राहत आवश्यक भएको बताए ।
पूर्वराजा ज्ञानेन्द्रले मंगलबार रौतहटको मध्यबजार गरुडामा भगवती मन्दिर र गौर–१ स्थित शिवालय मन्दिरमा पूजाअर्चना गरेका छन् । पूजाअर्चनापछि केहीबेर विश्राम गर्न होटल पुगेका उनले पत्रकारसित कुराकानी गरेका हुन् । मंगलबार दिउँसो आइपुगेका पूर्वराजाको स्वागतका लागि गाउँ–गाउँबाट स्थानीय बासिन्दा सदरमुकाम आएका थिए । समर्थकहरूको विशाल भिडका बीच उनले झन्डै २० मिनेट उनले मन्दिरमा पूजा गरेका थिए ।
सरकारले घोषणा गरेको संविधानसभाको चुनाव निष्पक्ष, धाँधलीरहित तथा जनताले खोजेजस्तो हुनुपर्ने पूर्वराजा ज्ञानेन्द्रले बताए । ‘चुनावको प्रतिफल जनताले पाउने गरी मात्र चुनाव हुनुपर्छ,’ उनले भने । पहिलो संविधानसभा असफल भएकाले अब गठन हुने संविधानसभाले जनताको आकांक्षा पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
भ्रमणका क्रममा देखिएको जनसहभागिताले राजसंस्थाप्रति जनताको आस्था अझै रहेको आफूले बुझेको पूर्वराजा ज्ञानेन्द्रले बताए । ‘जनताको इच्छा बुझेको छु तर अहिले नै केही भनिहाल्ने समय छैन, उचित समय आएपछि भनौँला,’ उनले भने । अहिलेको राजनीतिक अवस्थाबारे आफूभन्दा नेताहरूले बताउने उनले भने । ‘यस्ता प्रश्न नेताहरूलाई सोध्नोस्,’ उनले भने । नेताहरूले देशबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो । पूर्वराजा मंगलबारै सिमरा फर्किएका छन् ।

प्रतिक्रिया