रक्तश्रावले सुत्केरी आमा–बच्चाको मृत्यु

Rolpa Districtरोल्पा, ४ असार  । रोल्पाको कोर्चाबाङ गाविसमा घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएर एकजना सुत्केरी महिलाको ज्यान गएको छ भने नवजात शिशुको पनि मृत्यु भएको छ ।
कोर्चाबाङ–४ घापाकी २५ वर्षीया भूमिका पुनमगरको घरमै सुत्केरी भएको एक घण्टापछि अत्याधिक रगत बगेर ज्यान गएको स्थानीय मनकुमारी घर्तीमगरले जानकारी दिइन् । जन्मेको एक घण्टाभित्रै शिशुको मृत्यु भएको थियो भने शिशुको मृत्यु भएको करिब आधा घण्टापछि आमा भूमिकाको पनि मृत्यु भएको बताइएको छ ।
स्वास्थ्य संस्था धेरै टाढा भएको र आवश्यक परेको बेलामा यातायातको सुविधा पनि नभएकाले समयमै उपचार नपाउँदै उनको ज्यान गएको श्रीमान प्रभात पुनमगरले बताए । भूमिका भन्दा पहिले प्रभातकी दुई वटी श्रीमतीको पनि घरमै सुत्केरी भएको केही समयपछि मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएपछि भूमिकालाई प्रभातले दुई वर्षअघि विवाह गरेर भित्र्याएका थिए । भूमिका एक कुशल भलिबल खेलाडी पनि थिइन् ।
यातायातको उचित सुविधा नहुँदा र स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने ज्ञानको अभावका कारण पनि रोल्पाका ग्रामीण भेगमा वर्षेनी ठूलो संख्यामा आमा–बच्चा दुवैले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया