कृषि उत्पादनमा युवा सक्रिय

काठमाडौं, ४ असार । युवा सक्रिय नभएसम्म कृषिमा क्रान्ति ल्याउन सकिन्न भन्दै केही युवा मिलेर कृषि उत्पादन सुरु गरेका छन् ।

ललितपुरको विशंखुनारायण–२ स्थित स्थानीय जग्गा भाडामा लिएर १३ युवाले विभिन्न कृषि उत्पादन सुरु गरेका हुन् । गोदावरी कृषि उत्पादन तथा पशुपालन केन्द्र नामक कम्पनी दर्ता गरी २५ रोपनी जग्गामा विभिन्न तरकारी उत्पादन थालेका छन् ।
युवाले गर्न लागेको काममा सुरुमा त स्थानीयवासीले विश्वासै गरेका थिएनन्, कम्पनीका साझेदार युवा ध्रुव बस्नेतले भने, ‘के गर्दा रहेछन्, हेराँैलासमेत भने । तर, हामीले हिम्मत नहारीकन निरन्तर मिहिनेत गरिह्याँै र अहिले उनीहरू नै प्रशंसा गर्छन् ।’
गत वर्ष कम्पनी दर्ता गरी काम सुरु गरे पनि स्थानीयवासीमाझ उनीहरूको कम्पनी निकै चर्चित भइसकेको छ । बस्नेतका अनुसार तरकारी धेरैजसो त स्थानीयस्तरमै बिक्री–वितरण हुने गरेको छ । यसका लागि धेरै टाढासम्म बजार खोज्दै हिँड्नै पर्दैन ।
फार्ममा लगाइएको फर्सी, काउली, बन्दा, भन्टा, अकबरे खुर्सानीलगायत तरकारी त उत्पादन हुनेबित्तिकै स्थानीयवासी लिन आइपुग्छन् । ताजा र आºनै घरनजिकबाटै तरकारी लिन पाएपछि स्थानीयवासीसमेत दंग छन् । यस फार्ममा हाल १० जना कामदार राखिएको छ ।
सो फार्ममा थोपा सिँचाइबाट गोलभेँडाको उत्पादन पनि सुरु गरिएको छ । ‘धेरैजसो तरकारी भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेकाले अब स्वदेशमै तरकारी उत्पादन गर्ने लक्ष्य रहेको छ,’ अर्का युवा कृष्णप्रसाद शर्माले भने ।
आफूलाई आवश्यक तरकारी किन आफैँले उत्पादन नगर्ने त भन्ने सोच आएकाले नै कम्पनी दर्ता गरी कृषि उत्पादन सुरु गरिएको उनले बताए । ‘तरकारी बजारका लागि सबैले कालिमाटी नै रोज्छन्, ललितपुरमा तरकारीका लागि लगनखेल नै पुग्नुपर्छ तर हाम्रो उद्देश्य सिधा ग्राहकसम्म पुग्ने हो,’ बस्नेतले भने, ‘आºनो बजार व्यवस्थापन आफैँले गर्नेछौँ ।’ १३ जना युवा मिलेर सुरुमा २२ लाख रुपियाँको लगानी गरिएको भए पनि त्यसले नपुगेपछि ६५ लाख पुर्‍याउनुपरेको शर्माले बताए ।
‘दुग्धजन्य पदार्थको पनि उत्पादन गर्ने योजना रहेकाले आगामी वर्षदेखि गाईपालन सुरु गर्न आँटेका छौँ,’ योजना सुनाउँदै शर्माले भने, ‘विस्तारै कृषि तथा पशुपालनमा लगानी र उत्पादनलाई विस्तार गर्दै लैजानेछाँै ।’ कम्पनीमा संलग्न युवा सबै स्नातक तहसम्म अध्ययन गरेका छन् । साझेदार युवा बस्नेत भन्छन्, ‘हामीले जग्गा भाडामै लिइसकेर काम सुरु गरेपछि भने विस्तारै गाउँलेले पनि विश्वास गर्न थाले ।’ तरकारी उत्पादन गरी उनीहरूलाई नै बिक्री गर्न थालेपछि भने साँच्चै केटाहरूले राम्रो गरेछन् है भनेर हौसला दिन थालेको अनुभव बस्नेतको छ ।

प्रतिक्रिया