बन्दले सुनचादीमा नौ करोडको घाटा

विराटनगर :सुनचाँदी व्यवसायीको आन्दोलन कारण छ दिनको बन्दले मोरङ जिल्लामा करिब नौ करोड मूल्यबराबरको व्यापार घाटा भएको छ ।
विराटनगरलगायत मोरङ जिल्लामा दैनिक दुई केजी ५ सय ग्राम (अढाइ केजी) सुन कारोबार हुने गरेको भए पनि छ दिनदेखि पसल बन्दले व्यवसायी सो रकम बराबरको घाटा बेहोरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष गणेश भगतका अनुसार मोरङमा दैनिक एक करोड ५० लाख मूल्यबराबरको सुन र चाँदीको कारोबार हुने गरेको र यहाँ खरिदका लागि सीमावर्ती भारत विहारको जोगवनी, फारविसगन्ज, पूर्णिया, कटिहार र नेपालका राजविराज, दमक, दुहबी, इटहरी, इनरुवालगायत सहरी र तथा ग्रामीण क्षेत्रमा उपभोक्ता आउने गरेका छन् ।
प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मोरङ जिल्लामा सुन र चाँदीको कारोबार अन्य जिल्लाको तुलनामा अत्यधिक हुने गरेकाले बन्दको कारण यसमा रोजीरोटी पाएका दुई हजार व्यक्तिलाई समस्यामा परेको व्यवसायीहरू बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रीय समितिको
आह्वानबमोजिम मोरङका सुनचाँदी पसल सोमबार पनि बन्द छन् । महासंघद्वारा अगाडि सारिएका माग पूरा नभएसम्म अनिश्चितकालका लागि बन्द गरिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष भगतले बताए ।
सुनको आपूर्ति सहज बनाउनुपर्ने, अनुगमनसम्बन्धी नियम बनाउँदा व्यवसायीको सुझावलाई समेटिनुपर्ने, गरगहना बनाउन उपयोग हुने अत्याधुनिक औजारको आयात गर्दा सहुलियत उपलब्ध गराउनुपर्नेलगायत माग राखी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मोरङमा सुनचाँदीको कारोबार विराटनगरलगायत मोरङ विराटनगर चोक पथरी, उर्लाबारी, बेलबारी, रंगेली, इटहरा, कटहरी र कर्सियामा हुने गरेको छ । पसल बन्द भएका कारण सुन र चाँदीका गरगहना खरिद गर्ने ग्राहकहरू रित्तै फर्कने गरेको पाइएको छ । विराटनगर बजारमा पसल बन्द भएका कारण चहलपहल पनि कम रहेको छ ।
यसैबीच, सुनचाँदी व्यवसायी संघ मोरङले र्‍यालीको आयोजना गरी नगर परिक्रमापछि मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

प्रतिक्रिया