सप्तरीमा बाढीका कारण बर्सेनि ६० को मृत्यु

राजविराज : सप्तरीमा बाढी र त्यसका कारण फैलिने महामारीबाट बर्सेनि सरदर ६० जनाले ज्यान गुमाउने गरेको पाइएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाइटी सप्तरीले विभिन्न निकायसँग मिलेर गरेको अध्ययनबाट यस्तो आँकडा सार्वजनिक भएको हो । अध्ययनअनुसार बाढीबाट मात्र हरेक वर्ष १० जनाको मृत्यु हुन्छ । बाढीपछि फैलिने महामारीबाट हरेक वर्ष ५० जनाको मृत्यु हुने गरेको उक्त प्रतिवदेनमा उल्लेख छ ।
जिल्लाका ३३ गाविस बाढीको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । उच्च जोखिममा रहेका ३३ गाविसका ६ हजार ४ सय २ परिवारका ३८ हजार ४ सय १२ जना बाढीबाट प्रभावित हुने गरेका छन् । ६५ परिवारका ३ सय ९० जनसंख्यालाई त झन् वर्षैपिच्छे बाढीका कारण विस्थापित हुनुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ ।
कोसीसहित एक दर्जनभन्दा बढी नदीले सप्तरी सदरमुकाम राजविराजलगायत विभिन्न ६३ भन्दा बढी गाविसलाई प्रभाव पार्ने गरेको छ । कजरा, मुतनी, घोडदह, भलुवाही, गंगाजली, जिता, सुरुंगा, पौडा, बिहुल, फाँची, सिंहेश्वर, अमहा, खाँडो, महुली र कोसी नदीले वर्षेनी ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
बाढीको उच्च जोखिममा रहेका ३३ गाविसमा हरेक वर्ष साढे ४ अर्ब रुपियाँभन्दा बढीको क्षति हुने गरेको छ । ‘पाल्तु जनावर, बालीनाली तथा अन्य सम्पत्ति गरी बाढीको उच्च जोखिममा रहेका ३३ गाविसमा प्रतिगाविस वर्षेनी १३ करोड ४२ लाख मूल्य बराबरको क्षति हुने गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
जिल्ला विपत्–उद्धार समितिका अध्यक्षसमेत रहेका सप्तरीका सिडिओ हरिकृष्ण पौडेलले मनसुनी वर्षासँगै सुरु हुने बाढीको जोखिमलाई न्यूनीकरण गर्न सबैले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने बताए । (सौस)

प्रतिक्रिया