दार्चुला सदरमुकाम खलंगा बग्ने खतरा

Darchulaमहेन्द्रनगर, ४ असार । दुई दिनदेखिको मुसलधारे वर्षाका कारण महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा नै बग्ने खतरा बढेको छ । सोमबार बिहानदेखि महाकालीमा उर्लेको बाढीले अहिलेसम्म ९ सरकारी कार्यालयसहित तीन दर्जन बढी घर बगाएको छ । २४ त पक्की घर नै बगेका छन् । धाप गाविस–५ की ३१ वर्षीय सरस्वती रैखोला बेपत्ता छिन् ।

महाकाली अञ्चल प्रहरी कार्यालयका अनुसार नदीको बहाव तीव्र भएकाले कटान पनि त्यहीअनुसार गरिरहेको छ । वर्षा र नदीको बहाव नरोकिएकाले ठूलो क्षति हुने सम्भवना रहेको प्रहरीले जनाएको छ । ‘पानीको बहाव बढ्दै गएकाले दार्चुला सदरमुकाम हाइअलर्टमा छ,’ अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) छविलाल जोशीले सौर्यसँग भने ‘पानीको बहाव नरोकिए सदरमुकाम नै बग्ने खतरा छ ।’
बाढीले चार मन्दिर, १७ सुकुम्बासीको टहारा र कृषि बजारका ३ सटर बगाएको एसएसपी जोशीले बताए । त्यस्तै, अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालय र जिल्ला अस्पताल भवनसहित ९ सरकारी कार्यालय बाढीले बगाएको छ ।
आइतबार दिउँसोदेखि परेको अविरल वर्षापछि महाकालीमा आएको बाढीले सोमबार बिहानदेखि तीव्र कटान सुरु गरेको हो । बाढीबाट विस्थापित भएकाहरू आफन्तकहाँ गएर बसेका छन् ।
जिल्ला प्रहरी कार्यालय र प्राधिकरणको भवन रहेको आधा भाग बाढीले बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ । त्यस्तै जिल्ला अस्पतालको शवगृह र औषधी वितरण कक्ष बाढीले बगाएको छ । नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका उपकरण तथा औषधी सुरक्षित स्थानतर्फ सारेका छन् ।
अञ्चल प्रहरी कार्यालयका अनुसार जोलजीवीमा रहेको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयभित्र रहेका दुई ब्यारेकसमेत खाली गराइएको छ । पारिपट्टि भारतीय क्षेत्रमा आसाम रेजिमेन्टको भवन पनि बाढीले बगाएको वरिष्ठ प्रहरी उपरीक्षक जोशीले बताए ।
बाढीले बगाएर ल्याएको दाउरा टिप्नेहरूका कारण उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीलाई दिनभर हैरान भयो । ‘धपाउँदासमेत उनीहरू फर्किएर आउँछन्,’ वरिष्ठ प्रहरी उपरीक्षक जोशीले भने ‘दिनभर दाउरा टिप्नेहरूले पनि थप समस्यामा पारे ।’ बाढीले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय बगाउने खतरामा छ । त्यसैगरी, बाढीले गल्फैदेखि नमस्कारसम्मको भू–भागमा तीव्र कटान गरिरहेको छ । जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि महाकालीले कटान गरिरहेको प्रहरीले जनाएको छ ।
पानी पर्न नरोकिए पनि भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत्को बाधँस्थलमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेकाले बाँध खोल्ने भारतीय पक्षले जानकारी दिएपछि थप क्षति हुने अनुमान गरिएको छ ।
बाढीले भारततर्फ भने त्यति ठूलो क्षति गरेको छैन । भारतले तटबन्ध निर्माण गरेकाले र नेपालतर्फको भाग कमजोर भएकाले नदीको बहाव दार्चुला सदरमुकामतर्फ ठोकिएको हो । सदरमुकाम खलंगा उच्च जोखिममा परेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ जान सर्वसाधारणलाई आग्रह गरेको छ । सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन् । प्रभावित क्षेत्रमा सेना, प्रहरी तथा रेडक्रस स्वयं सेवकहरूले उद्धार कार्य जारी राखेका छन् । दुई दिनदेखि जारी वर्षा अझै रोकिएको छैन ।

क्षतिपूर्तिको माग
काठमाडौं : नेकपा (एमाले)ले महाकाली नदीमा आएको बाढीले दार्चुलाको सदरमुकाम खलंगामा परेको विपत् उद्धार र क्षतिपूर्तिका लागि सरकारसँग माग गरेको छ । पार्टीको केन्द्रीय सचिवालयका तर्फबाट सचिव विष्णु पौडेलले सोमबार विज्ञप्ति जारी गरी उद्धारका लागि सरकारसँग माग गरेका हुन् ।
मनसुन सुरु हुँदै गर्दा बढेको वर्षाले महाकाली नदीमा बाढी आएपछि दार्चुला सदरमुकाम खलंगामा घर र सरकारी कार्यलय नै बगाइरहेको छ । ‘प्राकृतिक आपत्–विपत् झेलिरहेका दार्चुलावासीप्रति गहिरो सहानुभूति प्रकट गर्दै तिनको शीघ्र उद्धार गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । (सौस)

प्रतिक्रिया