७ दिनपछि प्राधिकरणको ताला खुल्यो

गुल्मी, ३० जेठ । नियमित विद्युत् आपूर्तिको माग गर्दै विद्युत् प्राधिकरण कार्यालय गुल्मीमा लगाइएको ताला सात दिनपछि खुलेको छ । सात दिनदेखि आन्दोलनमा उत्रिएका आन्दोलनकारीका माग पूरा गरिने भएपछि प्राधिकरणमा लगाइएको ताला बुधबार साँझ खोलिएको हो ।

गुल्मीलाई २ पटकसम्म लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको भए पनि कार्यान्वयन पक्ष फितलो हुँदै गएपछि एमाले निकट अनेरास्ववियु र युवा संघ तथा संयुक्त संघर्ष समितिले ७ दिन अगाडि विद्युत् प्राधिकरणमा ताला लगाएर आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको संयुक्त वार्ता निष्कर्षमा पुगेपछि विद्युत् प्राधिकरणमा लगाइएको ताला खुलेको हो । वार्तामा विद्युत् नियमित हुने आश्वासन दिइएको छ । त्यस्तै, आन्दोलनकारीले उठाएका सम्पूर्ण माग पूरा गर्ने गरी वार्ता निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले बताए ।
आन्दोलनकारीले तीव्र रूपमा उठाएको विद्युत् कार्यालयमा भएको अनियमितताका विषयमा प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्ने सम्झौता भएको छ । त्यस्तै, जिल्लाका माग तत्काल केन्द्रमा पुर्‍याउनका लागि तत्कालै कार्यदल गठन गर्नेगरी सम्झौता भएको छ । आन्दोलनकारीले विद्युत् नियमित हुनुपर्ने र कार्यालयमा भएको अनियमितताको छानबिन हुनुपर्ने मागलाई प्रमुख विषय बनाएका थिए । लोडसेडिङ मुक्त जिल्ला भनिए पनि विद्युत् प्राधिकरणले पटकपटक विद्युत् काट्ने गरेपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
बुधबार भएको वार्तापछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित हुने भएका छन् । तर, जिल्लामा रहेका केही संस्थाले भने निरन्तर रूपमा विद्युत् नियमित गर्नका लागि दबाबका कार्यक्रम सञ्चालन गरिरहेका छन् । केही दिनअगाडि गुल्मीका सम्पूर्ण एफएम रेडियो पनि विद्युत् नियमित हुनुपर्ने मागसहित अनिश्चितकालका लागि बन्द भएका थिए । तर, रेडियोहरु भने स्थानीयको अनुरोधमा ४ दिन पछि खलेका थिए । विद्युत् प्राधिकरणमा लगाइएको ताला केहीबेर अगाडि खोलिएपछि बिहीबारदेखि कार्यालयका नियमित काम निरन्तर सञ्चालन हुनेछन् । विगत ७ दिनदेखि कार्यालयका सम्पूर्ण काम ठप्प रहेका थिए ।

प्रतिक्रिया