डन चक्रे मिलनसित एक करोड धरौटी माग

chakre-milanकाठमाडौं, ३० जेठ । गुन्डागर्दी र अपराधजन्य क्रियाकलापबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका चर्चित डन चक्रे मिलनसँग विशेष अदालतले बुधबार एक करोड धरौटी मागेको छ । मिलनसँगै विपक्षी बनाइएकी उनकी पत्नी इन्द्रा घले गुरुङसँग पनि २ लाख रुपियाँ धरौटी माग गरेको प्रवक्ता धीरबहादुर चन्दले बताए ।

विषेश अदालतका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्य न्यायाधीशद्वय मोहनरमण भट्टराई तथा भूपेन्द्रप्रसाद राईको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मिलनसँग एक करोड र उनकी पप्नी इन्द्रासँग २ लाख रुपिया धरौटी रकम माग गरेको हो । लागुऔषध ओसारपसार कारोबारमा पक्राउ परेका मिलन लामो समयदेखि केन्द्रीय कारागार जगन्नाथदेवल थुनामा छन् ।
विशेष अदालतले मागेको धरौटी नबुझाए अदालतको आदेशअनुसार उनी थप जेल बस्नुपर्ने कानुनी प्रावधान छ । विशेष अदालतले मिलन र उनकी पत्नीलाई प्रारम्भिक दोषी ठहर गर्दै धरौटी रकम मागेको हो । मिलनकी पत्नी इन्द्रा अदालतले मागेको दुई लाख धरौटी बुझाएर बुधबार नै रिहा भएकी छन् । बुधबार बिहान १० बजे नै विशेष अदालत पुगेका मिलन र उनकी श्रीमतीको बयान लिने र बयानपछि थुनछेक बहस भएको थियो । अदालतले दुवैसँग घरौटी रकम मागेको थियो ।
५ जेठमा गुन्डागर्दी र अपराधजन्य क्रियाकलापबाट अकुत सम्पत्ति आर्जन गरेको जिकिर गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिलन र उनकी पत्नीविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धान विभागले ७ करोड ८० लाख १७ हजार २ सय २६ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको जिकिर दायर मुद्दामा गरेको थियो ।
मुद्दामा उनका नाममा विभिन्न बैंकमा रहेको ४ लाख ४१ हजार ५ सय १७ रुपिया, काठमाडौं महानगरपालिका–४ मा रहेको जग्गा, मिलन र उनकी पत्नीसँग रहेको ५० तोला सुन र एउटा स्कुटर जफत गर्न माग गरिएको थियो । साथै अनुसन्धान विभागले बिगोबराबरको जरिवाना र एक वर्षदेखि चार वर्षसम्म कैद सजायसम्म माग गरेको थियो ।
तर, मिलनले अनुसन्धान विभाग र विषेश अदालतमा बयान दिँदा आफुले गैरकानुनी रूपमा सम्पत्ति आर्जन नगरेको जिकिर गरेका छन् । उनले जापानमा बसी कमाएको रकम र बालुवा व्यवसाय आफ्नो आम्दानीको मुख्य स्रोत भएको दाबी गरेका छन् ।
विभिन्न अपराधजन्य क्रियाकलापमा संलग्न रही गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मिलनसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच डन र उनका श्रीमतीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएकामध्ये पर्शुराम बस्नेत अदालतमा उपस्थित भइसकेका छन् ।
विशेष अदालतले बस्नेतसँग २ करोड रुपियाँ धरौटी मागेको थियो भने उनकी पत्नीलाई भने विनाधरौटी रिहा गर्न आदेश दिएको थियो । बस्नेत अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा छन् । अनुसन्धान विभागले मिलन र बस्नेतसँगै गणेश लामा र उनकी पत्नी लक्ष्मी लामा, राजीव गुरुङ, उर्फ दीपक मनाङे र उनकी पत्नी पासाङ डोमा गुरुङ र अभिषेक गिरी उनकी पत्नी अनिषा गिरीविरुद्ध मुद्दा दायर गरेको थियो । अन्य अभियुक्त अदालतमा उपस्थित भएका छैनन् ।

प्रतिक्रिया