दलहरूको सुझावअनुसार अध्यादेश जारी गर्न खनालको आग्रह

Jn-newकाठमाडौं, २९ जेठ । एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनालले दलहरूको सुझावका आधारमा निर्वाचन अध्यादेश जारी गरेर चुनावको मिति तोक्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीे कार्यालय सिंहदरबारमा मंगलबार रेग्मीसितको भेटवार्तामा अध्यक्ष खनालले अध्यादेश निर्माण गर्दा दलहरूले दिएका सुझावलाई ध्यान दिन आग्रह गरेका हुन् । निर्वाचन अध्यादेशबारे उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भएको निर्णयबारे जानकारी गराउन खनालले रेग्मीलाई भेटेका थिए ।
सोमबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले अध्यादेशका विवादित विषयमा सहमति गर्न नसकेपछि दलीय सुझावका रूपमा आ–आºना अडान मन्त्रिपरिषद्लाई दिने र अध्यादेश टुंग्याउने जिम्मेवारी सरकारलाई नै दिने निर्णय गरेको थियो । खनालले रेग्मीलाई सोही जानकारी गराएका थिए ।
‘निर्वाचन अध्यादेश, तिथि घोषणा र अन्य तयारीबारे कुराकानी भएको छ,’ खनालले भने, ‘अब अध्यादेश दलहरूका सुझाव समेटेर जारी गर्नुपर्छ र चुनावको मिति तोक्ने वातावरण बनाउनुपर्छ ।’
भेटमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले उच्चस्तरीय समितिमार्फत दलहरूले दिएको सुझावलाई आधार बनाएर अध्यादेश जारी गर्ने र निर्वाचनको मिति तय गर्ने वातावरण बनाउन आफू लागिपर्ने बताएका थिए । निर्वाचन अध्यादेशका विषयमा दलहरूबीच सहमति नहुँदा सरकारले चुनावको मिति तय गर्न सकेको छैन । एक महिनाभन्दा बढी समय अध्यादेशमा दलहरूको सहमति पर्खेर बसेको थियो । सोमबार पनि दलहरूबीच सहमति नभएपछि अध्यादेश टुंग्याउने जिम्मा उनीहरूले सरकारलाई नै दिएका थिए ।

प्रतिक्रिया