इनोभेटिभ र ओडिसीलाई उपाधि

Golden-Pick-basketbl--Bijetकाठमाडौं, २८ जेठ । पाँचौँ म्याट्रिक्स–गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा इनोभेटिभ र जुनियर ब्वाइजमा ओडिसी सोमबार च्याम्पियन बनेका छन् । सिनियरको फाइनलमा डिफेन्डिङ च्याम्पियन इनोभेटिभले ड्याफोडिललाई ५४–४९ ले पाखा लगाउँदै उपाधि रक्षा गर्‍यो । विजेताका सुदीप श्रेष्ठले १८ अंक जोडे ।

जुनियरको उपाधि भिडन्तमा ओडिसीले आयोजक गोल्डेनपिक हाई स्कुलमाथि ३१–२९ को कठिन जित निकाल्यो । ओडिसीको जितमा अनिल लामाले १७ अंक योगदान गरे । सिनियरमा भ्याली पब्लिकले काठमाडौं भ्याली स्कुललाई ४५–४३ तथा इनोभेटिभले डिफेन्डिङ च्याम्पियन नेरिकलाई २०–८ ले हराउँदै तेस्रो स्थानमा चित्त बुझाए ।
सिनियरमा इनोभेटिभका अजय कुँवर र जुनियरमा ओडिसीका विक्रम थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियरमा ड्याफोडिलका सुजन सेन्चुरी र जुनियरमा इनोभेटिभका भूपेन्द्र रोका प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियरमा भ्याली पब्लिकका सोहरत शाह र जुनियरमा गोल्डेनपिकका सन्जोग राउत उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, गोल्डेनपिकका प्रिन्सिपल छत्रमणि राई, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन केसी तथा सदस्य कला राईले पुरस्कार प्रदान गरे । जेठ २२ गतेदेखि सुरु प्रतियोगिताको सिनियर र जुनियरमा समान १६–१६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया