चाँडै सहमतिमा पुग्न रेग्मीको आग्रह

Khilraj-Regmi'sकाठमाडौं, २५ जेठ । निर्वाचन सम्बन्धि अध्यादेशका बारेमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिबीच छलफल भएको छ ।

अध्यादेशका विषयमा परामर्श भए पनि ठोस सहमति भने हुन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) भएको छलफलमा रेग्मीले अध्यादेशमा देखिएका विवादहरु चाँडै राजनीतिक सहमति गरेर हल गर्न आग्रह गरेको समितिका सदस्य एवं मधेसी मोर्चाका नेता विजय गच्छेदारले जानकारी दिए ।
अध्यादेशमा दलहरुका बीच सहमति हुन नसक्दा निर्वाचन अन्यौलमा पर्दै गएको छ । नेता गच्छेदारले दलहरुका बीच विवाद विषयमा छिटो सहमति हुने बताए ।
सभासद् संख्या ४ सय ९१ बनाउन सहमति भए पनि दलहरुबीच न्यूनतम मत, फौजदारी अभियोग लागेका व्यक्ति उम्मेद्ववार बन्न पाउने या नपाउने तथा उम्मेदवारको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बुँदामा विवाद कायमै छ ।
एमाओवादी र मधेसी मोर्चाले न्यूनतम मत नराख्न आग्रह गरेका छन् । उनीहरुले पुरानै निर्वाचन ऐन अनुसार चुनाव गर्न माग गरेका छन् । यद्यपि कांग्रेस र एमालेले सो मागको विरोध गर्दै आएका छन् ।
अध्यक्ष रेग्मीले दलहरुलाई चाँडो सहमति गरेर आउन आग्रह गरेको उनका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिए ।

प्रतिक्रिया