मुक्त कमलरीको आन्दोलन फिर्ता

Kamlari-Bathinyaकाठमाडौं : सरकारसँग १० बुँदे सहमति भएपछि शुक्रबारदेखि र आन्दोलनरत मुक्त कमलरीले एक सातादेखिको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
शुक्रबार साँझ भएको वार्तामा मुक्त कमलरीले उठाएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएपछि आन्दोलनका सबै कार्यक्रम एक महिनाका लागि फिर्ता लिइएको पूर्वसभासद् शान्ता चौधरीले जानकारी दिइन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शुक्रबार साँझ वार्ता भएको थियो । चौधरीले सहमति भएका सबै बुँदाको कार्यान्वयन नभए एक महिनापछि पुन: आन्दोलन गर्ने बताइन् ।
मुक्तकमलरीलाई परिचयपत्र दिइनुपर्ने, उनीहरूको व्यवस्थापन हुनुपर्ने, यही जेठ १९ गते सिंहदरबार घेराउका क्रममा घाइते भएका कमलरीको उपचार गरिनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेलगायत माग राखी उनीहरू आन्दोलनमा उत्रिएका थिए ।
ललितपुरमा कमलरी बसेकै अवस्थामा मृत्यु भएकी सिर्जना चौधरीको परिवारलाई तत्काल पाँच लाख क्षतिपूर्ति दिने, घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा हत्या प्रमाणित भए पाँच लाख थप गर्ने र हत्यामा संलग्नमाथि कानुनी कारबाही गर्नेलगायत सहमति भएको छ ।
लालमटिया–८ मौरीघाट निवासी १२ वर्षीया सिर्जना चौधरीको गत चैत १४ गते जलेर मृत्यु भएपछि पूर्वकमलरीले सिर्जनाको आत्महत्या नभई हत्या भएको भन्दै विरोधमा उत्रिएका थिए । गत २१ गतेदेखि जारी बन्द शुक्रबार बेलुकादेखि खुलेको छ । (सौस)

प्रतिक्रिया