घोषणाले मात्र हुन्छ र खुला दिसामुक्त क्षेत्र

जाजरकोट, २३ जेठ । जिल्ला सदरमुकाम रहेको खलंगा गाविसलाई खुला दिसामुक्त घोषणा गरिए पनि कार्यान्वयनमा समस्या देखिन थालेको छ । यस गाविसलाई आवश्यक पूर्वाधारविना खुला दिसामुक्त घोषणा गरिएकाले कार्यान्वयनमा समस्या उत्पन्न भएको हो ।

सार्वजनिक शौचालय नहुँदा जताभावी दिसापिसाब गर्ने क्रम रोकिएको छैन । सदरमुकामको प्रवेशद्वार मानिने खलंगा–१, शान्तिचौतारीमा बसबाट झरेका यात्रुले जथाभावी दिसापिसाब गर्ने गरेका छन् । शौचालय भए/नभएको निगरानी गरी सरसफाई कार्ड वितरण गर्ने निकाय गाविस कार्यालय नै शौचालयविहीन छ । खुला दिसामुक्त घोषणा गर्ने प्रमुख निकाय खलंगा गाविसको हाताभित्रै शौचालय नहुनु विडम्बना बनेको नागरिक अगुवाको भनाइ छ । जिल्लाभित्र रहेका अन्य सरकारी तथा गैरसरकारी कार्यालयमा पनि शौचालय छैनन् । भए पनि प्रयोग गर्नलायक छैनन् ।
जिल्ला सदरमुकामको बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय छैन । खलंगा बजार क्षत्रेमा मात्र करिब २० हजारको स्थायी तथा अस्थायी बसोबास छ । सार्वजनिक शौचालय नहुँदा बाटामा जथाभावी दिसापिसाव गर्ने क्रम हट्न सकेको छैन । सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रवेश गर्ने विभिन्न बाटोहरूमा जथाभावी दिसापिसाव गर्नाले वातावरण प्रदुषित छ ।
खलंगा क्षेत्रको ठाँटी बजार क्षेत्रबाट रिसाङ जाने बाटो, गैरीखाली क्षेत्रबाट बसपार्क, रिसाङ र रानागाउँ जाने बाटोहरूमा जथाभावी दिसापिसाब गर्ने गरेको पाइन्छ ।
खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयले गाउँमा मात्र शौचालय निर्माण गर्ने गरेको छ । तर, गाउँमा निर्मित कतिपय शौचालय दिशापिसाब गर्न होइन बाख्रा बाँध्न, पराल इत्यादि राख्न प्रयोग गर्ने गरिएको छ ।
जिल्लामा विगतमा महामारीका रूपमा फैलिएको झाडापखालाबाट सरसफाई तथा खुला दिसामुक्त गाउँ बनाउने अभियान लहरै चलेको छ । तर, अभियान पूर्णरूपमा सफल बन्न नसकेको स्थानीय रत्नराज हमाल बताउँछन् । ‘गाउँघरमा तथा सार्वजनिक शौचालयका लागि मात्र अभियानले जोड दिएको छ,’ हमाल भन्छन्, ‘तर यो सफल हुनका लागि शौचालयसँगै खानेपानीलाई समेत जोडेर लिन जरुरी छ ।’
जाजरकोटका डाँडागाउँ, रामीडाँडा र खलंगा गाविस खुला दिसामुक्त गाविस घोषणा भइसकेका छन् । जिल्लामा रहेका चार सय २२ मध्ये ७० वटा विद्यालयमा मात्र शौचालय रहेको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समितिले जनाएको छ । बाँकी २७ वटा गाविस र अन्य बाँकी विद्यालयमा आगामी सन् २०१५ भित्र शौचालय निर्माण गरी पूर्ण रूपमा जिल्लालाई नै खुला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य छ ।
खलंगाका गाविस सचिव शेरबहादुर केसी राजनीतिक दल, नागरिक अगुवा तथा स्थानीयवासीको सक्रियतामा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको उल्लेख गर्दै घोषणामा कार्यान्वयनमा भने उनीहरूले सक्रियता नदेखाएको प्रतिक्रिया दिए । उनीहरूको थप सहयोग चाहिएको उनको भनाइ छ ।

प्रतिक्रिया