कमलरी आन्दोलन चर्कियो

Kamlari-Bathinyaदेउखुरी, २२ जेठ । कमलरी मृत्युको छानबिन माग राख्दै तराईका २२ जिल्ला बन्द गर्दै पूर्वकमलरीले आन्दोलन चर्काएका छन् । मंगलबारदेखि गरिएको अनिश्चितकालीन बन्दका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । दाङको देउखुरी लालमटीया–८ मौरीघाटकी १२ वर्षीय कमलरी सिर्जना चौधरीको गत २२ चैतमा जलेर मृत्यु भएको घटना सार्वजनिक भएपछि कमलरी आन्दोलन चुलिएको हो । कमलरीले मंगलबारदेखि आन्दोलनलाई थप सशक्त बनाउन तराईका २२ जिल्ला बन्दको आह्वान गर्दै सडकमा उत्रिएका हुन् ।

कमलरी आन्दोलनका कारण पश्चिम तराईका ६ जिल्लासहित तराईका २२ जिल्लामा बन्दको प्रभाव पर्‍यो । कमलरी लाठी र मुंग्रा लिएर सडकमै उत्रिएका थिए । आन्दोलनमा सहभागी मुक्त कमलरीले आफ्ना माग पूरा नहँ‘दासम्म आन्दोलन स्थगित नगर्ने बताएका छन् । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी उनीहरू सडकमा उत्रिएका छन् ।
काठमाडौंमा एउटा टोलीले र तराईका ६ जिल्लामा त्यहाँ रहेका मुक्त कमलरीहरूले आन्दोलन चकाइरहेका छन् । ‘चार वर्षको उमेरमै कमलरी बस्न बाध्य भएँ, त्यसबेला धेरै समस्या भोगेँ,’ आन्दोलनमा उत्रिएकी चैलाही–४ खैरीकी उषा चौधरीले भनिन्, ‘हामीले जस्तो समस्या अरू बहिनीहरूले भोग्नु नपरोस् भनेर आन्दोलनमा उत्रिएका हौँ ।’ सरकारले आफ्ना माग सम्बोधन नगर्दासम्म आन्दोलन स्थगित नगर्ने पूर्वकमलरी सीता चौधरीले बताइन् । ‘हाम्रा माग सम्बोधन नहुँदासम्म सडक छाड्दैनौँ,’ उनले भनिन्, ‘हाम्रो आन्दोलनलाई दबाउन कोसिस नगरियोस् ।’ मध्य तथा सुदूरपश्चिमका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारू समुदायका बालिका घरको आर्थिक अवस्था कमजोर भएकै कारण अझै पनि अर्काको घरमा कमलरी बस्न बाध्य छन् ।
त्यस्तै, कमलरी प्रथा उन्मूलन संयुक्त संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दका कारण मंगलबार बर्दियाको जनजीवन पनि प्रभावित भएको छ । दाङ लालमटियाकी १२ वर्षीया कमलरी सिर्जना चौधरीको मृत्यु र कमलरीमाथि हुने शोषणलगायत घटनाको छानबिनको माग गर्दै आन्दोलनरत कमलरीले मंगलबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेपछि बर्दियाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण जिल्लामा यातायात, कलकारखाना, व्यावसायिक प्रतिष्ठान तथा शैक्षिक संघसंस्था ठप्प छन् । ‘बालिका बचाउ’ अभियानअन्तर्गत सिंहदरबारअगाडि शान्तिपूर्ण रूपमा धर्ना दिइरहेका कमलरीमाथि प्रहरीले दमन गरेपछि सशक्त आन्दोलनमा उत्रनुपरेको संघर्ष समितिका सहसंयोजक उर्मिला चौधरीले बताइन् । सरकारले गठन गरेको सहसचिवस्तरीय वार्ताटोलीसँग वार्ता नगर्ने पनि उनले बताइन् ।
पूर्वमन्त्री भट्ट बाटोमै
कमलरी आन्दोलनका कारण एमाओवादी नेता तथा पूर्वमन्त्री लेखराज भट्ट बाटोमै रोकिएका छन् । सुर्खेतबाट काठमाडौं जाने क्रममा मंगलबार दिउँसो लमही आइपुगेका भट्टलाई आन्दोलनमा उत्रिएका मुक्त कमलरी बालिकाले काठमाडौं जान दिएनन् । भट्ट चढेको निजी जिपलाई आन्दोलनमा उत्रिएका कमलरीले करिब डेढ घन्टा घेरेर राखेका थिए । उनीहरूको आन्दोलनका कारण भट्ट काठमाडौं जान सकेनन् । प्रहरीको स्कर्टिङसमेत गर्न नदिएपछि परिवारसहित आएका भट्ट होटलमा बस्ने भन्दै लमहीबाट पश्चिम फर्किएका थिए । पूर्वमन्त्री चढेको जिपलाई आन्दोलनकारीले देख्नेबित्तिकै उत्तेजित नारा लगाउँदै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजीनामासमेत माग गरे । ‘पूर्वमन्त्रीज्यूलाई काठमाडौं पठाउन धेरै प्रयास गरियो तर आन्दोलनरत पक्षले नमानेपछि उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ,’ इलाका प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख महेन्द्र नेपालले भने, ‘स्थिति सहज भयो भने पठाउँछौँ ।’
सरकारी गाडी फोडियो
आन्दोलनरत पूर्वकमलरीले दाङको घोराहीमा एउटा सरकारी गाडी तोडफोड गरेका छन् । घोराही नगरपालिकाको फोहोर संकलन गर्ने रा.१ ग ११ नम्बरको गाडीमा आक्रमण गरेका हुन् । बजारमा फोहोर संकलन गरेर फोहोर डम्पिङ गर्न जाँदै गरेको उक्त गाडीमा पूर्वकमलरीले घोराहीको मुख्य चोक तुलसीपुरमा लाठी/मुंग्रा हानेका हुन् ।

प्रतिक्रिया