जेठ अन्तिम साता आँखुखोलाको विद्युत् उत्पादन

काठमाडौं, २० जेठ । आँखुखोला जलविद्युत् कम्पनीले जेठको अन्तिम सातादेखि ८ दशमलव ४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले दिएको जानकारीअनुसार आयोजनाको परीक्षण उत्पादन केही दिन पहिले नै गरिएको र यही २४ जेठदेखि नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर लगेर आवश्यक परीक्षण गरिने भएको छ । परीक्षणपछि आयोजनाले व्यावसायिक उत्पादन गर्नेछ ।
धादिङको मार्पाक र सल्यानकोट गाविसको बीचमा पर्ने रिङ्ने बजारमा रहेको आयोजनास्थलदेखि धादिङबेँसीसम्म कम्पनीले नै १४ किलोमिटर लामो प्रसारण लाइनसमेत निर्माण गरेको छ । आयोजनाले धादिङबेँसीमा एक करोड ५५ लाख लागतमा सब स्टेसनसमेत निर्माण गरेको आयोजनाका कार्यकारी निर्देशक कँडेलले बताए ।
०६६ देखि निर्माण सुरु गरिएको सो आयोजनामा प्राइम बैंकको नेतृत्वमा पाँचवटा विभिन्न बैंकले लगानी गरेका छन् । कुल लागत एक अर्ब ७५ करोड रहेको सो आयोजनामा माछापुच्छ्रे बैंक, किस्ट बैंक, सनराइज बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रूपमा लगानी गरेका छन् । प्रमुख लगानीकर्ता रहेको प्राइम बैंकले सो आयोजनामा ४० करोड रुपियाँ लगानी गरेको छ ।
रामेछाप शेर्पा कन्ट्रक्सन र आरजे कन्ट्रक्सनले संयुक्त रूपमा निर्माण गरेको सो आयोजनाले सामाजिक सेवा दायित्वअन्तर्गत स्थानीयस्तरमा खानेपानी आयोजना, सडक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण तथा वातावरण संरक्षणमा समेत योगदान दिइएको कार्यकारी निर्देशक कँडेलको भनाइ छ ।
सो आयोजनाबाट उत्पादन भएको बिजुली वर्षायाममा ४ दशमलव ८० पैसा र हिउँदमा ८ दशमलव ४० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिएको छ । नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) मोडलमा निर्माण गरिएको सो आयोजना धादिङको हकमा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाका रूपमा लिने गरिएको छ ।
यसअघि सोही निर्माण समूहले थोपलखोला जलविद्युत् आयोजना निर्माण गरेको थियो । लगभग एक मेगावाट क्षमताको सो आयोजना हाल सञ्चालनमा रहेको छ भने सरकारले ०४० सालमा निर्माण गरेको थोपलखोला साना जलविद्युत् आयोजना हाल बन्द अवस्थामा रहेको छ ।
आँखु खोलाअन्तर्गत विभिन्न प्रवद्र्धकले अनुमतिपत्र लिए पनि निर्माणको काम भने सुरु गरेका छैनन् । सो आयोजनाले सुख्खा याममासमेत पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नका लागि पानी जम्मा गर्ने प्रणालीसमेत निर्माण गरेको छ ।  कार्यकारी निर्देशक कँडेलका अनुसार सुख्खा याममा विद्युत् उत्पादन कम हुन नदिनका लागि विद्युत् उत्पादन गर्न मिल्ने गरी २.५ किलोमिटर चौडाइको तालसमेत निर्माण गरिएको छ । ‘हामीले आयोजनालाई नदी प्रवाहमा आधारित मोडलमा मात्रै निर्माण भएको आयोजनाभन्दा पनि पानी जमाएर निर्माण गरिएको आयोजनाका रूपमा पनि लिन सकिने गरी निर्माण गरेका छौँ  । यो नेपालकै पहिलो रन अफ दि रिभर र ड्याम प्रणाली दुवै खालको आयोजना हो ’ कार्यकारी निर्देशक कँडेलले भने ।
सो आयोजनाको उत्पादनलगायतका अन्य स्थितिको मूल्यांकन गरेर सोही खोला अन्तर्गतकै अर्को आयोजनामा समेत लगानी गर्ने प्रवद्र्धकले जानकारी दिएका छन् । सो आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप ८.४ मेगावाट विद्युत् थप हुनेछ ।

प्रतिक्रिया