पर्यटक आगमनमा झिनो वृद्धि

tourist-jpgकाठमाडौं,२० जेठ । सन् २०१३ को मे महिनामा  अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३ दशमलव १ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार मे महिनामा ४४ हजार एक सय ५६ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् ।
एसियातर्फ दक्षिण एसिया बाहेकका देशहरूबाट आएका पर्यटकको संख्या करिब ४८ प्रतिशतले बढेको छ । नेपालमा विगत दुई तीन वर्षदेखि बढिरहेको चिनियाँ पर्यटकको कारण यस समूहको पर्यटकको भारी वृद्धि भएको हो । मे महिनामा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या ४३ दशमलव ६ प्रतिशतले बढेको छ । त्यस्तै जापान, मलेसिया, दक्षिण कोरिया र थाइल्यान्डबाट आउने पर्यटकका क्रमश: ५ दशमलव ६ प्रतिशत, १ सय ४२ प्रतिशत, ४० दशमलव ९ प्रतिशत र ४७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । तर, सिंगापुरबाट आउने पर्यटकको संख्यामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३ प्रतिशतले गिरावट आएको छ ।
दक्षिण एसिया क्षेत्रका देशहरूबाट आउने पर्यटकको आगमन दर भने नकारात्मक रह्यो । समग्र दक्षिण एसियाबाट आउने पर्यटक आगमन दर ८ दशमलव १ प्रतिशतले घट्यो । बंगलादेशबाट आउने पर्यटक संख्यामा १२ दशमलव ७ प्रतिशत र श्रीलंकाबाट आउने पर्यटक आगमनमा २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । नेपालको पर्यटक आगमनमा ठूलो हिस्सा ओगट्ने भारतीय पर्यटकको आगमनमा भने मे महिनामा ९ दशमलव ५ प्रतितले घटेको छ । त्यस्तै, पाकिस्तानबाट आउने पर्यटक आगमनमा भने २१ दशमलव २ प्रतिशतले गिरावट आएको छ ।
युरोपेली राष्ट्रहरूबाट आउने पर्यटकको आगमनमा ३ दशमलव ३ प्रतिशतले घटेको छ । फ्रान्स, जर्मनी, नेदरल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र स्विडेनबाट आउने पर्यटक आगमनमा ३ दशमलव ६ प्रतिशत, शून्य दशमलव ४ प्रतिशत, १९ दशमलव ८ प्रतिशत, ९ दशमलव ७ प्रतिशत, ३३ दशमलव ६ प्रतिशत र २९ दशमलव ८ प्रतिशतले बढेको छ भने बेलायत, डेनमार्क, इटाली र रसियाबाट आउने पर्यटकको वृद्धि दर नकारात्मक रह्यो । मे महिनामा क्रमश: १ दशमलव ७ प्रतिशत, ३८ दशमलव ३ प्रतिशत, १९ प्रतिशत, साढे १२ प्रतिशत र ११ दशमलव १ प्रतिशतले यी देशहरूको पर्यटक आगमनमा गिरावट आएको हो । तर, संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक आगमनमा भने क्रमश: १७ दशमलव ३ प्रतिशत, १२ दशमलव ७ प्रतिशत, २१ दशमलव १ प्रतिशत र १० दशमलव ८ प्रतिशत वृद्धि भएको छ । त्रिभुवन विमानस्थलका अनुसार मे २०१३ मा हवाई मार्गभएर ५८ हजार १ सय ९५ पर्यटक नेपाल भित्रिएका छन् । सोही समयमा ६३ हजार २ सय ५० नेपाली नेपाल फर्किका छन् भने ८३ हजार १ सय ७९ जना नेपालीले मे महिनामा नेपाल छाडेका छन् ।

प्रतिक्रिया