आर्मी र मनाङ–मस्र्याङ्दी दोस्रो चरणमा

gorkah-cup-photoकाठमाडौं, १७ जेठ । नेपाल आर्मी क्लब र मनाङ–मस्र्याङ्दी क्लब गोर्खा कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा यी दुवै टोलीको जित पछि समूहबाट संकटा  र टुसाल क्लब बाहिरिएका छन् । मनाङ र आर्मीबीच हुने समूहको अन्तिम खेलले विजेताको टुंगो लाग्ने छ । बिहीबार आर्मीले टुसाललाई ६–० ले पराजित गर्‍यो भने मनाङ–मस्र्याङ्दीले संकटा क्लबलाई ५–१ ले हरायो । आर्मीका नरेस मेचेले ह्याट्रिक गरे भने काशीराज कार्की टेक बहादुर बुढाथोकी र जितेन्द्र कार्कीले थप गोल गरे । १६ औँ मिनेटमा टेकबहादुरको क्रसमा काशीराजले सहज गोलगरे । त्यसको तीन मिनेटपछि नै टेकबहादुरको पावरफुल सट क्रसबारमा लाग्दै गोलमा परिणत भयो । ३२औँ मिनेटमा महेन्द्र खवासको क्रसमा नरेसले गोल गरे । त्यसको पाँच मिनेटपछि नरेसले खाली पोस्टमा गोल गरे ।
दोस्रो हाफको सुरुआतमै राजु तामाङको प्रहार टुसालका गोलरक्षकले रोके पछि नेरसले रिबाउन्डमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८१औँ मिनेटमा रक्षक जितेन्द्रले गोल गरे । एनआरटी छाडेर आर्मी प्रवेश गरे पछिको यो उनको पहिलो गोल हो ।
अर्को खेलमा अनिल गुरुङको पासलाई उपयोग गर्दै सुजल श्रेष्ठले २४औँ मिनेटमा मनाङलाई पहिलो अग्रता दिलाए । ४१औँ मिनेटमा योना एलियासको प्रहार संकटाका गोलरक्षक दीपेश यादवले राम्रोसँग क्लियर गर्न नसके पछि रिबाउन्डमा रुपेश केसीले गोल गरे । ७२औँ मिनेटका शिव श्रेष्ठको पासमा सुजलले गोल गरे । त्यसको लगत्तै अनिल गुरुङले गोल गरे । ७९औँ मिनेटमा राजीव गुरुङले संकटाका लागि गोल गरे । अन्तिम मिनेटमा दीपक राईको पासमा अनिल गुरुङले गोल गरे ।

प्रतिक्रिया