पाँच र बाह्र वर्षीया बालिका बलात्कृत

Balatkarविराटनगर, १७ जेठ । मोरङको बयरवन–८ रमाइलोकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । त्यस्तै, बर्दियाको धधबार–३ की १२ वर्षीया बालिकालाई पनि स्थानीय युवकले बलात्कार गरेका छन् ।
बयरवन–८ का १४ वर्षीय दीपेश घिमिरेले छिमेकी पाँच वर्षीया बालिकालाई बुधबार बलात्कार गरेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने बालिकालाई स्वास्थ्य परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगर ल्याइएको छ ।
त्यस्तै, फुपूको घरबाट फर्किंदै गरेकी बर्दियाको धधबार–३ कि १२ वर्षीया बालिकालाई बुधबार स्थानीय २९ वर्षीय महेश चौधरीले बलात्कार गरेका छन् । पीडित बालिकाले स्थानीय महिला अधिकारकर्मीलाई दिएको जानकारीअनुसार चौधरीले खेतमा लगेर जबरजस्ती करणी गरेका हुन् । आँप लिन दाजु र हजुरआमासँग फुपूको घर गएकी बालिकालाई फर्कने क्रममा दाजुका साथीसमेत रहेका चौधरीले बलात्कार गरेका हुन् ।
चौधरीले नै ती बालिकालाई घर पुर्‍याइदिने भन्दै फुपूको घरबाट साइकल चढाएर ल्याएका थिए । एकान्त ठाउँ देखेपछि बेलुकीको समयमा बलात्कार गरिएको हो । बलात्कार गरिसकेपछि चौधरीले बालिकालाई राति १० बजे घर पुर्‍याएको  पीडित बालिकाका बाबुले  बताए ।
आरोपित महेश चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक यमुना रजकले बताए । जिल्ला अस्पतातमा डाक्टर नहुँदा अस्पतालमार्फत परीक्षणका लागि नेपालगन्जमा आवश्यक नमुना पठाइएको उनले बताए । घटना अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धानपछि कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए ।
यसैबीच, मोरङकै पथरीस्थित हरियाली सामुदायिक वनभित्र बुधबार बेलुका सडेको अवस्थामा दुईवटा शव भेटिएका छन् । एउटा शवको पहिचान भएको छ भने अर्कोको सनाखत हुन सकेको छैन ।
बुधबार बेलुका ६ बजे पथरी–९ स्थित वनभित्र झुन्डिएको तर सडिसकेको अवस्थामा फेला परेको शव मोरङ शनिश्चरे–८ का ६९ वर्षीय बलबहादुर खड्काको भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बुद्ध श्रेष्ठले बताए । शवको पहिचान उनकी छोरीले खड्काले लगाएको लुगा र खुट्टामा रहेको निसानीबाट गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मानसिक सन्तुलन ठीक नभएका खड्का घरबाट १० दिनदेखि बेपत्ता रहेको बताइएको छ । परिवारले शवको पहिचान बुधबार नै गरे पनि घटनास्थलबाट शव भने बिहीबार मात्रै उठाइएको छ ।
त्यस्तै, सोही सामुदायिक वनभित्र रूखमा झुन्डिएको अवस्थामा अर्को एउटा शव पनि फेला परेको छ । बेवारिसे अवस्थामा फेला परेको शव अन्दाजी २५/२६ वर्षीय मंगोलियन अनुहारका युवकको रहेको पथरी प्रहरीले जनाएको छ । शवको अहिलेसम्म पहिचान हुन नसकेको र शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको पथरीका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया