भाँडाकुँडा उद्योग संकटमा

भोजपुर :  भाँडाकुँडा निर्माण गरी बिक्री–वितरण गर्दै जीविकोपार्जन गर्दै आएका भोजपुर टक्सारका कालीगढ विस्थापित भएका छन् ।
कच्चा पदार्थको अभाव र स्थानीय प्रशासनले चासो नदिँदा यहाँका कालीगढ विस्थापित भएका हुन् । भाँडाकँुडा बनाउन प्रयोग हुने तामादेखि अन्य सबै चिज बाहिरबाट ल्याउनुपरेका कारण बढी खर्चिलो र झन्झटिलो भएकाले स्थानीय कालीगढले यस व्यवसायलाई विस्तारै छाडेका छन् ।
पछिल्लो समयमा वैदेशिक रोजगारीतर्फ आकर्षण बढेका कारण पनि युवाहरू यो पेसाबाट पलायन भएका हुन् । ‘अहिलेका युवा पुरानो काम गर्नै मान्दैनन्, पढ्ने भन्छन्, कोही विदेश जाने भएकाले यहाँको उद्योग बन्द हुने क्रममा पुगेको छ,’ स्थानीय धीरेन्द्र श्रेष्ठले भने ।
कुनैबेला तामा खानी र तामाका भाँडाकँुडा उत्पादनमा प्रसिद्धि कमाएको भोजपुरको टक्सारमा हिजोआज पाँच/सात जनाले मात्र यो परम्परालाई धान्दै आएका छन् । भोजपुरका धोद्लेखानी र बैकुण्ठे गाविसको सिरिसेमा रहेको तामाखानी बन्द भएपछि टक्सारका तामा तथा पितलका भाँडाकुँडा उद्योग संकटमा परेको हो । खानी बन्द भएको ७० वर्ष बितिसक्दा पनि खानी सञ्चालनमा कसैको चासो गएको छैन ।
हातैले पिटेर बनाइएका भाँडाकुँडा अन्य भाँडाकुँडाभन्दा केही महँगो भए पनि स्तरीय हुने गर्छ ।  भोजपुर आएका पर्यटकहरू उपहार र कोसेलीका रूपमा हातैले पिटेर बनाइएका करुवा, अन्टी, थाल आदि भाँडाकुँडा किनेर लैजाने गर्छन् । अघिल्लो वर्ष तामा, पितलका भाँडाकुँडा बनाउने उद्योग सञ्चालनका लागि २० वटा उद्योग दर्ता गराएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।  तर,  यसवर्ष दुईवटा मात्र नवीकरण भएको पनि सो समितिले जनाएको छ ।
कुनैबेला विभिन्न जिल्ला हुँदै भारतको सिक्किम दार्जलिङसम्म तामाका भाँडाकुँडा निर्यात हुँदै आएको भए पनि हाल स्थानीय बजारलाई पनि धान्न सकिरहेको छैन ।

प्रतिक्रिया