रेग्मीको विकल्प खोज्नु दुर्घटना निम्त्याउनु : प्रचण्ड

काठमाडौ, १५ जेठ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खिलराज रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकका लागि अर्को दुर्घटना निम्त्याउनु भएको बताएका छन् ।
मंगलबार पत्रकारसित उनले यस्तो बताएका हुन् । ‘खिलराज रेग्मीको विकल्प खोज्ने बेला भएको छैन । ११ बुँदे सहमति र २५ बुँदे बाधा–अड्काउ फुकाउमा सहमति गर्ने दलहरूले नै विकल्प खोज्ने कुरा गर्नु दु:खद हो,’ अध्यक्ष दाहालले भने ।
मंसिर पहिलो साता संविधानसभाको निर्वाचन गर्ने गरी बुधबार मिति घोषणा गरिने दाबी गरे । उनले मंगलबार बिहान चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसित छलफल गरेका थिए । ‘सरकार निर्वाचनको मिति घोषणा गर्न गम्भीर छ, बुधबार बिहान उच्चस्तरीय राजनीति समितिको बैठक बसेर विवादित विषयमा सहमति कायम गरेपछि गणतन्त्र दिवसकै दिन मिति घोषणा हुन्छ । निर्वाचन भएन भने अप्ठ्यारो स्थिति आउँछ भन्नेमा सरकार गम्भीर पाएको छु । मिति घोषणापछि निर्वाचनको माहोल आफँै बन्छ,’ उनले भने ।
निर्वाचन ऐन र चुनावको मिति पहिल्यै घोषणा हुनुपर्ने भए पनि हुन नसकेकामा दु:ख व्यक्त गर्दै उनले मंसिरमा निर्वाचन गर्नेमा विपक्षमा रहेका दलहरूसहित कसैको पनि विमति नभएको बताए । चुनाव गराउने विषयमा सरकार र दलहरू प्रतिबद्ध रहेकाले तोकिएकै मितिमा निष्पक्ष र भयरहित चुनाव हुने विश्वास उनले व्यक्त गरे ।
१० प्रतिशत थ्रेसहोल्ड राखे पनि आफूहरूलाई कुनै आपत्ति नभएको अध्यक्ष दाहालले बताए । तर, त्यसो गर्दा आगामी संविधानसभामा साना दलको प्रतिनिधित्व नहुने भएकाले थ्रेसहोल्ड राख्न नहुने तर्क आºनो पार्टीले गरेको उनले बताए ।
‘थ्रेसहोल्डमा दलहरूबीच सहमति भएको छैन । हामीलाई १० प्रतिशत राखे पनि आपत्ति छैन । तर, संविधानसभाको निर्वाचन भएकाले साना दलको पनि प्रतिनिधित्व होस भनेर थ्रेसहोल्ड हुनुहुँदैन भन्ने पक्षमा उभिएका हाँै, संविधानसभाको
निर्वाचनमा बोलिभियाबाहेक कतै पनि थ्रेसहोल्ड राखिएको थिएन,’ दाहालले भने ।
संविधानसभाको संख्या विषयमा दलहरूबीच भएको सहमतिबाट आफूहरू पछि नहटेको जिकिर दाहालले गरे । समानुपातिकको संख्या घटेकामा अधिकांश दलको आपत्ति रहेकाले उनीहरूलाई पनि निर्वाचनमा ल्याउन त्यसमा पुनर्विचार गराँै भन्ने प्रस्ताव मात्रै आफूले राखेको उनले बताए ।
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग फोनमा पटक–पटक वार्ता भएको सुनाउँदै दाहालले वैद्यले पछि भेटौँ भनेकाले औपचारिक वार्ता हुन नसकेको बताए । उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले वैद्यसँग भेटेर छलफल गरिरहेको उनले बताए ।
संविधानसभा विघटन हुनु दु:खद घटना भएको बताउँदै अध्यक्ष दाहालले अघिल्लो वर्ष आजकै दिन दलहरूबीच १० प्रदेशमा सहमति भए पनि दिन बित्दै जाँदा संविधान जारी नभई संविधानसभा विघटन हुन पुगेको दाबी गरे ।
यसअघि मंगलबार बिहान दाहालले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसग छलफल गरेका थिए । अध्यक्ष निवास बालुवाटारमा भएको भेटमा संविधानसभा चुनावको प्रक्रियासग सम्बन्धित विषय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
चुनावको सुनिश्चितताका लागि राजनीतिक दल र सरकारले गर्नुपर्ने कामबारे उनीहरुबीच छलफल चलेको थियो । निर्वाचन आयोगले प्रस्ताव गरेको चुनावसम्बन्धी अध्यादेशमा सहमति कायम गराउन भइरहेका प्रयास र चुनावको मिति चाडै तोक्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

प्रतिक्रिया