तयारी पोसाक कारखानामा सुरक्षा मापदण्ड

ढाका  : गत महिना बंगलादेशको एक तयारी पोसाक कारखानामा भएको दुर्घटनापछि सो क्षेत्रको असुरक्षाका बारेमा विभिन्न प्रश्नहरू उठिरहेका बेला यस क्षेत्रको सुरक्षाका लागि विभिन्न सुरक्षाका मापदण्ड सुरु हुने भएको छ ।
यस बारेमा चर्चा सुरु भएलगत्तै केही युरोपेली कम्पनीहरूले बंगलादेशको तयारी पोसाक मापदण्ड लागू गराउन सहयोग सुरु गर्ने भएको बताएको छ ।
ती क्षेत्रमा सुरक्षाका मापदण्ड अपनाउन इन्टिडेक्ससहित युरोपेली खुद्रा बिक्रेताले बंगलादेशमा कपडा कारखानामा सुरक्षाको सुधारका लागि सम्झौता गर्नेे भएका छन् ।
यससम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्ने पनि उनीहरूले बताएका छन् । गत महिना एक तयारी पोसाक भवन भत्कँदा एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएपछि यस्तो सम्झौता हुने समाचार बाहिर आएको हो ।
सो विपत्तिबाट कार्यरत कामदारको अशान्तिका कारणले सयौँ कारखानाहरूलाई बन्द गर्न बाध्य पारिएको अधिकारीहरूले बताएका छन् । जसका कारण यस क्षेत्रमा उत्पादन हुने वस्तुमा पनि गुणस्तरीयताको प्रश्न उठ्नसक्ने भन्दै उद्यमीहरूमा पनि चिन्ता छाएको थियो । सरकारले सुरक्षामा सुधार ल्याउनका लागि केही कदमको घोषणा पनि गरिसकेको छ । ती कदममा कामदारको न्यूनतम ज्यालामा वृद्धि र कामदारहरूका लागि युनियन बनाउने कामलाई सहज बनाउने जस्ता सम्झौतामा रहेको छ ।
बंगलादेशमा तयारी पोसाकका क्षेत्रमा हुने गरेका घातक घटनाको शंखलाहरूमध्येको यो पछिल्लो विपत्ति हो । यस दुर्घटनाले बंगलादेशको निर्यात तयारी पोसाक उद्योगमा सुरक्षा मापदण्डहरूमाथि अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गरेको छ । तयारी पोसाकको उत्पादनका क्षेत्रमा चीनपछिको यो दोस्रो सबैभन्दा ठूलो निर्यातकर्ता हो । राना प्लाजा भत्किएपछि विगतका हप्ताहरूदेखि करिब प्रत्येक दिन कामदारहरू सडकमा उत्रिएर सुरक्षा मामदण्डको माग पनि गरिरहेका छन् ।

प्रतिक्रिया