दुई प्रतिशतले गरिबी घट्दै

काठमाडौं : गरिबी निवारण कोषले प्रत्येक वर्ष २ प्रतिशतले गरिबी घट्दै गएको जनाएको छ ।
गरिबी निवारणका लागि सरकारले अघि सारेको कार्यक्रमको प्रभावकारिताको कारणले प्रत्येक २ प्रतिशत गरिबी घटेको कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठले जानकारी दिए । ‘अत्यन्त गरिबीको रेखामुनि रहेका परिवारका लागि सरकारले कोषमार्फत सञ्चालन गरेको कार्यक्रमको कारणले प्रत्येक वर्ष २/२ प्रतिशतका दरले गरिबी घटिरहेको छ ।’, आइतबार कोष र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले भने ।
कोषले नेपालीको आम्दानीको आधारमा २५.२ प्रतिशत गरिबी रहेको जनाएको छ भने अक्सफोर्डले मल्टी प्रोभटी इन्डेक्सको आधारमा गरेको अध्ययनमा ४४.२ प्रतिशत गरिबी छ । गरिबीमध्ये ४२ प्रतिशत हिमाली, ३६ प्रतिशत पहाडी र ३१ प्रतिशत पहाडमा छ भने त्यो मध्ये पनि गरिब, दलित जनजाती ४२ प्रतिशत गरिबीको रेखामुनि छन् । ‘भौगोलिक विकटता, पूर्वाधार विकास अभाव, अस्थिर राजनीति लगायतको कारणले गरिबी बढेको हो, हामीले त्यस्ता क्षेत्रमा आयआर्जन वृद्धिका लागि कार्यक्रम गरिरहेका छौँ ।’, श्रेष्ठले भने । गरिबी निवारण कोषले हाल ४० जिल्लामा विश्व बैंकलगायतको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको छ भने थप १५ जिल्लामा विस्तार गर्ने लक्ष्य राखिएको छ । कोषमार्फत सञ्चालित कार्यक्रम अन्तर्गत २२ हजार संस्था गठन भएका र ६ लाख ३३ हजार घर परिवारमाझ आयआर्जन लगायतका गरिबी निवारणका कार्यक्रम सञ्चालन गरिएको कोषले जनाएको छ । प्रत्यक्ष समुदायलाई अनुदान दिने नीति लिएको कार्यक्रमअन्तर्गत हालसम्म १३ अर्ब ५६ करोड रुपियाँ समुदायमा पुगेको पनि कोषले जानकारी दिएको छ । कोषले आयआर्जनमा ७६ प्रतिशत र पूर्वाधार विकासमा २४ प्रतिशत खर्च गरेको छ । कोषको कार्यक्रममार्फत गरिबी परिवारमा रहेको आम्दानीमा ८२ प्रतिशत बढेको दाबी छ ।
कोषलाई विश्व बैंकले २ सय १५ मिलियन डलर र आइफाडले ४ मिलियन डलर उपलब्ध गराएको छ भने विश्व बैंकले आगामी चार वर्षका लागि ८० मिलियन डलर अनुदान उपलब्ध गराउन लागेको कोषका उपाध्यक्ष युवराज पाण्डेले जानकारी दिए । उनका अनुसार, उक्त अनुदानबारे विश्व बैंकको नेपाल कार्यालय र सरकारबीच सहमति भइसकेको छ भने यो प्रस्ताव विश्व बैंकको सञ्चालक समितिबाट अनुमोदन हुन बाँकी छ ।
कार्यक्रममा विश्व बैंकका वरिष्ठ विशेषज्ञ राजीव उपाध्यायले कोष र बंैक मिलेर गरिबी निवारणका लागि चार वर्षे रणनीति तयार गर्न लागेको जानकारी दिए । कार्यक्रममा सेजनका अध्यक्ष प्रदीप चापागार्इंले गरिबी निवारणका लागि आर्थिक पत्रकारहरूले समाचारमार्फत सहयोग गर्नसक्ने बताए ।

गरिबी निवारण कोष पत्रकारिता पुरस्कार
गरिबी निवारण कोषले गरिबी निवारणबारे उत्कृष्ट समाचार तथा फिचर लेखकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले तीन वटा पुरस्कारको स्थापना गरेको छ ।
५० हजार राशिका नेपाली र अंग्रेजी सञ्चार माध्यमका लागि दुई छुट्टाछुट्टै तथा २५ हजार राशिको स्थानीय पत्रपत्रिकाका लागि गरिबी निवारण कोष पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।  दैनिक, साप्ताहिक, पाक्षिक पत्रपत्रिकामा प्रकाशित उत्कृष्ट समाचारलाई दिइने सो पुरस्कार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा दिइने कोषका उपाध्यक्ष युवराज पाण्डेले जानकारी दिए । उनका अनुसार, पुरस्कार छनोटका लागि कार्यविधि बनाउन लागेको उक्त पुरस्कार आगामी वर्षदेखि गरिबी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसमा दिइनेछ ।

प्रतिक्रिया