गृहमन्त्री नआएपछि झन् रुष्ट बने स्थानीयवासी

राजविराज, १० जेठ । गृहमन्त्री माधवप्रसाद घिमिरे सप्तरी आउने कुरा हल्लामै सीमित भएपछि पूर्वसभासद सदरुल मिया हकको हत्यापछि आक्रोशित आफन्त र स्थानीयवासी रुष्ट बन्न पुगेका छन् । हत्याको विरोधमा कल्याणपुरलगायत विभिन्न क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा ठूला सवारी साधन मात्र अवरुद्ध गरेका आन्दोलकारीले बिहीबार साँझदेखि मोटरसाइकलसमेत चल्न दिन छाडेका छन् ।
चोकमा हकको शव निकालेर प्रदर्शन गर्न थालेका आफन्त र समर्थकको अडानका कारण गृहमन्त्री साँझ ५ वजेसम्म पनि आउने प्रशासनले जनाएको थियो । तर, खराब मौसमको कारण देखाउँदै पुन: नआउने समाचारसँगै आन्दोलकारी आक्रोशित भएका हुन् । उनीहरूले पूर्वपश्चिम राजमार्गमा रुख ढालेर अवरोध गरेका छन् ।
यसअघि हकको हत्यासँगै मंगलबार बिहानदेखि अवरुद्ध यातायात नखुल्ने सम्भावना बढेपछि गृहमन्त्री आफैँ घटनास्थल आउन लागेको सुरक्षा श्रोतले जानकारी दिएको थियो । सडकको तातो घाममा प्रतिक्षा गरेर बसेका स्थानीयलाई अन्तिम समयमा आएर ‘गृहमन्त्री भोलि (शुक्रबार) मात्रै आउनु हुने भो’ भन्दै जवाफ दिएपछि उनीहरूको आक्रोश बढेर गएको बताइएको छ ।
पीडित परिवार तथा स्थानीयवासीले गृहमन्त्री नआएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । स्थानीय वार्ता टोली र प्रशासनका बीचमा दिउँसो एक बजेसम्म भएको वार्ताका क्रममा गृहमन्त्री आउने दरिलो आधार नभएको भन्दै उनीहरूले शवलाई चोकमा निकालेर प्रदर्शन सुरु गरेका थिए । सो आन्दोलनले अहिले थप चर्को रूप लिएको स्थानीयको भनाइ छ ।
धारिलो हतियारले छियाछिया बनाइएको अवस्थामा हकको शव मंगलबार बिहान फेला परेको थियो । सप्तरीको कल्याणपुर–२ स्थित आफ्नै हुमा पेट्रोल पम्पको एक कोठामा सुतेका हक बिहान ८ बजे मृत फेला परेका थिए ।

प्रतिक्रिया