हलिया बालिका तालिममा व्यस्त

Haliya-Balikaडडेल्धुरा, १० जेठ । डडेल्धुराका कैलपालमाडौं गाविस र नवदुर्गा गाविसका १५ हलियाका बालिका हाते होजियारी तालिममा व्यस्त छन् । विद्यालय छाडी घरमै बसिरहेका हलियाका बालिका अहिले हाते होजियारी तालिम लिइरहेका छन् । उनीहरूले मफलर, मोजा, स्विटर र टोपी बनाइरहेका छन् । १४ वर्षदेखि १८ वर्षसम्मका ती बालिका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम सिकिरहेका हुन्छन् ।
गरिबीका कारण विद्यालय गई पठनपाठन गर्न नपाएको तालिम गरिरहेकी १५ वर्षीया गंगा तिरुवाले बताइन् । उनले भनिन्, ‘आफू कक्षा ३ मा पढ्दै गर्दा बुबा बिरामी हुनुभयो । उहाँको उपचार गराउने पैसा नहुँदा मृत्यु भएपछि परिवारमा झन् आर्थिक समस्या भएकाले पढाइ छाडी घरमै बसेछु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेपाल शिक्षा परियोजना ‘एएसआई’ कार्यक्रमअन्तर्गत तीनमहिने तालिम सञ्चालन भएपछि सीप पनि सिकिरहेको र मासिक ४४ सय रुपियाँसमेत पारिश्रमिक पाउँदै गरेकाले घरखर्च चलिरहेको चन्द्रा दमाईंले बताइन् ।
हलियाका सवालमा काम गर्ने संघसंस्था धेरै भए पनि वास्तविक हलियासम्म ती कार्यक्रम पुग्न सकिरहेका छैनन् । डडेल्धुरा जिल्लामा २५ सय ७६ जना हलिया रहेको र जसमा ११ सय जनाले मात्रै परिचयपत्र पाएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालयका तथ्यांकका कानुनी अधिकृत हरिस बोहराले बताए । मुक्त हलिया परिचयपत्र पाएका अधिकांश व्यक्ति मजदुरीका लागि छिमेकी देश भारततिर पलायन भएका छन् ।
हलिया परिवारलाई मुक्त हलिया परिचयपत्र मात्रै दिएर हलियाको समस्या समाधन नहुने भन्दै तिनीहरूका लागि व्यावसायिक र आधारभूत सीपको खाँचो रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु.प.क्षेत्रीय संयोजक खड्कराज जोशीले बताए

प्रतिक्रिया