एक सय ७५ सिटका लागि करिब पाँच हजार परीक्षार्थी

गुल्मी, १० जेठ । बिहीबारदेखि सुरु हुने शिक्षक सेवा आयोगमा गुल्मीबाट चार हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लामा एक सय ७५ शिक्षकका लागि चार हजार ७ सय ४६ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
जिल्ला शिक्षा कार्यालय गुल्मीले दिएको जानकारीअनुसार प्राथमिक तहमा एक सय नौ जनाका लागि दुई हजार चार सय ९७ जना परीक्षामा सहभागी हुँदै छन् । निम्न माध्यमिक तहमा ३९ जनाका लागि एक हजार ६ सय १९ जना र माध्यमिक तहका लागि ६ सय ३० जना परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताए । बिहीबारदेखि सञ्चालन हुने परीक्षाका लागि १९ वटा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । जसमा प्राविका लागि नौ, निमाविका लागि ६ र माविका लागि चार परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा सञ्चालनका लागि जिल्लाका सरकारी कार्यालयका अधिकृतस्तरका कर्मचारीलाई निरीक्षकका रूपमा परिचालन गरिएको छ । जिल्लामा ५० जना अपांग परीक्षार्थीले परीक्षा दिँदै छन् । शिक्षा कार्यालयका अनुसार दृष्टिविहीन तथा दुवै हात नचल्नेले मात्रै सहयोगी राख्न पाउने व्यवस्था छ । यसैबीच, जिल्ला शिक्षा कार्यालय गुल्मीले परीक्षाको अधिकांश तयारी पूरा भएको जनाएको छ । शिक्षा कार्यालयले सदरमुकाम तम्घासमा मात्रै परीक्षा सञ्चालन गर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । २० परीक्षार्थी बराबर एक जना निरीक्षक तोकिएको शिक्षा कार्यालयले जनाएको छ ।
परीक्षा सञ्चालनका लागी आवश्य प्रश्नपत्र तथा उत्तरपुस्तिका जिल्ला आइपुगेको छ । परीक्षालाई परीक्षा समन्वय समिति तथा जिल्लाका अधिकृतस्तरका कर्मचारीले अनुगमन गर्ने शिक्षा कार्यालयले जनाएको छ । परीक्षामा अनधिकृत काम गर्ने परीक्षार्थीको परीक्षा रद्द गरिने शिक्षा कार्यालयले जनाएको छ । परीक्षामा आफन्त अगाडि–पछाडि नपरून भन्नका लागि नेपाली वर्णमाला क्रममा मिलाएर सिट निर्धारण गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया