‘अवैध यौनसम्बन्ध खुल्ने डर’ले महिलाको हत्या

hatya 4काठमाडौं, १० जेठ । सशस्त्र प्रहरीका जवानसहित दुई व्यक्तिले अवैध यौनसम्बन्ध राख्दै आएको महिलाको हत्या गरेको खुलेको छ । अवैध सम्बन्ध खुल्ने डरका कारण ती महिलाको हत्यामा संलग्न भएको अभियोगमा पूर्वराजा ज्ञानेन्द्र शाहको महाराजगन्जस्थित निर्मल निवासमा खटिएका सशस्त्र प्रहरी जवान २५ वर्षीय कृष्णबहादुर बराम समातिएका छन् ।
प्रहरीका अनुसार दरबन्दी बलम्वुस्थित नीलबाराही गणमा भई निर्मल निवासमा खटिएका बरामसहित दुई जनाले सर्लाही लालबन्दी–७ की ४२ वर्षीया सुन्तलीमाया लामाको हत्या गरेका हुन् । हत्यामा संलग्नता रहेको अभियोगमा गोरखा आरुआरवाङ–१ का २६ वर्षीय पूर्णबहादुर बरामलाई पनि पक्राउ गरिएको छ । उनी बुढानीलकण्ठस्थित छाला फ्याक्ट्रीमा काम गर्थे । कृष्ण र पूर्ण साइनोले सालाभिनाजु रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले सुन्तलीसँग पालैपालो यौन सम्बन्ध राख्दै आएका थिए ।
‘हत्यामा संलग्न दुई युवक साला भेना हुन् । उनीहरूले सुन्तलीसँग पालैपालो यौन सम्बन्ध राखेको पाइयो,’ अनुसन्धानमा खटिएका महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका डिएसपी उमा चतुर्वेदीले भनिन् ।
सुन्तली महाराजगन्जस्थित शिक्षण अस्पतालमा सुरक्षागार्डको काम गर्थिन् । प्रहरीका अनुसार कृष्ण र पूर्णले सुन्तलीलाई सोमबार बूढानीलकण्ठ–८ स्थित चिस्यानीको जंगलमा लगी ढुंगाले टाउको किचेर हत्या गरेका थिए । त्यसपछि उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सुन्तलीको हत्यामा संलग्न दुवै युवकसँग यौनसम्बन्ध रहँदै आएको थियो । यौनसम्वन्ध राखेवापत सुन्तलीले रकम लिने गर्थिन् । सुन्तलीलाई दुवै युवकले पालैपालो फोन गरी बोलाउँथे । विशेष गरी ड्यूटी सकिएका बेला उनीहरू सुन्तलीलाई बोलाउँथे । सुन्तलीलाई लिएर उनीहरू बालाजुका होटेल, राजधानीका गेस्ट हाउसदेखि जंगलसम्म लिएर जान्थे । एक पटकमा उनीहरूले सुन्तलीलाई दुईदेखि तीन सय रुपियाँसम्म दिन्थे । महाशाखाका डिएसपी चतुर्वेदीले भने, ‘उनीहरूबीच अवैध रूपमा यौनसम्बन्ध भएको देखियो । यससँग लेनदेनको विषयमा विवाद पनि रहेछ । हत्याको कारण यो नै बन्यो ।’
सुन्तलीसँग पहिले भेट्ने व्यक्ति पूर्णबहादुर हुन् । ६ महिनादेखि नियमित सम्पर्कमा रहेका उनीहरूबीच यौनसम्बन्ध पनि रहँदै आएको थियो । पछि उनले आफ्ना सालो कृष्णसँग सुन्तलीको भेट गराइदिए । तीन महिनादेखि कृष्णले सुन्तलीलाई भेटेका थिए । सोही बेलादेखि उनीहरूबीच यौन सम्बन्ध रहँदै आएको थियो । दुवैले पालैपालो सुन्तलीलाई बोलाउँथे र यौन प्यास मेटाउँथे । कृष्ण र पूर्ण दुवै विवाहित हुन् । सुन्तलीका ६ भाइ छोरा र दुई छोरी छन् । आठै सन्तान पहिलो पतिका हुन् । उनी पछि भने दोस्रो पति लालबहादुर तामाङसँग बस्दै आएकी थिइन् ।
यसरी भयो हत्या
प्रहरीका अनुसार यौन सम्बन्ध खुल्ने डर भएपछि कृष्ण र पूर्णले सुन्तलीको हत्या गर्ने योजना बनाए ।
योजनाअनुसार कृष्णले सोमबार दिउँसो सुन्तलीलाई फोन गरी बुढानीलकण्ठस्थित चिस्यानीको जंगल जाने प्रस्ताव गरे । सुन्तलीको ड्युटी अफ थियो । उनी जंगल जान राजी भइन् । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा दिउँसो तीन बजे भेट्ने योजना बन्यो । तोकिएको समयमै दुवैबीच भेट भयो र बुढानीलकण्ठतर्फ गाडीमा गए ।
पूर्ण बुढानीलकण्ठमै बस्ने भएकाले उनले सोही स्थानमा सुन्तली र कृष्णलाई कुरिरहेका थिए । कृष्ण र सुन्तली बुढानीलकण्ठमा झरे । पूर्णसँग उनीहरूको भेट भयो । अब तीनै जना चिस्यानको जंगलतर्फ लागे । जिस्किदै उकालो लागेका उनीहरू रुखका छायामा सितल ताप्दै अझ उकालो लागे । रुख छाँया र बुट्यानमा छेलिँदै पालैपालो यौन सम्पर्कलाई निरन्तरता दिए । डिएसपी चर्तुवेदीले भने, ‘जंगलमा उनीहरूबीच यौन सम्पर्क भएको छ । त्यसपछि मात्रै हत्या भएको देखिन्छ ।’
घाम डुब्न लाग्यो । तर, उनीहरूको फर्कने सुर थिएन । बेलुकीको ८ बज्यो । तीन जनासँगै थिए । कृष्णले सुन्तलीलाई उत्तानो पारे । दुवै हातले बेस्सरी घाँटी अठ्याए । सास फेर्न नसकेपछि सुन्तली जोडबल गर्न लागिन् । कृष्णले बलियो गरी टाउको समात्यो । नजिकै रहेका पूर्णले ढुंगा उचाले । जोडले सुन्तलीको टाउकोमा बजारे । टाउकोबाट रगतका सिर्का छुटे । छटपटाइरहेकी सुन्तली चाल विस्तारै रोकियो ।

प्रतिक्रिया