बस दुर्घटना ७ को मृत्यु, ४१ घाइते (अपडेट)

धनगढी, ९ जेठ । दार्चुलामा आज बिहान भएको बस दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा ४१ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको पवनदुत यातायातको ना ४ ख ८२८५ नम्बरको यात्रुबाहक बस दार्चुलाको गोकुलेश्वर गाविस–६ ठूलीसैनमा आज बिहीबार बिहान छ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट झण्डै ३५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुला खरकाडा गाविस–३ का ३८ वर्षीय नरसिंह धामी, सर्मौली गाविस–३ का गोपालसिंह खत्री र सोही ठाउँका बस चालक २६ वर्षीय करनसिंह साउँद तथा भीमदत्त नगरपालीका–१८ का बस मालिक ४० वर्षीय कृष्ण भट्ट रहेका छन् ।
त्यस्तै, भारतको पिथौरागढ जिल्ला बलुवाकोटका ८० वर्षीय मोतिराम भट्ट, ५० वर्षीय महादेव भट्ट र ६१ वर्षीय मथुरादत्त भट्टको पनि मृत्यु भएको छ ।
घाइते भएका ४१ मध्ये गम्भीर अवस्थामा रहेका १३ जनालाई थप उपचारका लागि भारतको पिथौरागढ र धनगढी रिफर गरिएको दार्चुला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुँवेर कठायतले बताए । अन्यको घाइतेको दार्चुलाको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ प्रहरी प्रमुख कठायतले भने ।
बसमा सवार अधिकांश यात्रु शिक्षक सेवा आयोगको परीक्षा दिनेहरु रहेका थिए । क्षमता भन्दाबढी यात्रु, साघुँरो र उकालो मोडैमोड भएको सडक भएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
गत साल पनि सोही क्षेत्रमा तीन वटा दुर्घटना भएका थिए । ति दुर्घटनामा परी २० जनाको मृत्युभएको थियो ।

प्रतिक्रिया