१३ हजार पदमा पौने ५ लाख परीक्षार्थी

gulmiकाठमाडौं ९ जेठ । स्थायी शिक्षक पदपूर्तिका लागि बिहीबारदेखि देशभर परीक्षा सुरु हुँदै छ । शिक्षक सेवा आयोगले १७ वर्षपछि १३ हजार ५९ पदका लागि परीक्षा सञ्चालन गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख खगेन्द्र नेपालले परीक्षाको तयारी पूरा भएको जानकारी दिएका छन् । उनका अनुसार देशभरिका एक हजार आठ सय ४७ केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।
दिउँसो २ बजेदेखि हुने माध्यामिक, निम्नमाध्यामिक र प्रावि तहको परीक्षामा चार लाख ८० हजार सात सय ५८ जनाले प्रतिस्पर्धा गर्दै छन् । आयोगले पहिलो दिन बिहीबार माध्यमिक तहको परीक्षा लिँदै छ । माविमा २१ विषयको दुई हजार दुई सय ८६ पदमा ६१ हजार ६ सय २० जनाले प्रतिस्पर्धा गर्ने नेपालले बताए । मावि तहमा नेपालीमा १४ हजार ६ सय ८०, अंग्रेजीमा १४ हजार पाँच सय ५० सामाजिकमा १४ हजार दुई सय १६  र गणितमा सात हजार ६ सय २२ जनाले परीक्षा दिँदै छन्  ।
नेपालका अनुसार परीक्षामा २० पूर्णांकको वस्तुगत र ८० पूर्णांकको विषयगत प्रश्नपत्र राखिएको छ । ८० पूर्णांकमा पनि २० पूर्णांकको साधारणपत्र राखिएको छ ।
माध्यमिकतहको परीक्षा सञ्चालनका लागि दुई सय ५२ परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै निमाविमा ६ सय ३६ र प्राथमिक तहका लागि ९ सय ५९ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी काठमाडांैमा ८२ र कम मनाङमा तीन परीक्षाकेन्द्र छन् ।
शुक्रबार हुने निमाविको परीक्षातर्फ नौवटा विषयमा दुई हजार सात सय ९३ पदका लागि एक लाख ६८ हजार एक सय ८४ परीक्षार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै शनिबार प्रावितर्फको सात हजार नौ सय ८० शिक्षकका लागि दुई लाख ५० हजार नौ सय ५४ परीक्षार्थी सहभागी हुनेछन् ।
उत्तरपुस्तिकामा संकेत लेख्ने परीक्षार्थीको परीक्षाफल रद्द गरिने भएको छ । आयोगले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन उत्तरपुस्तिकामा नाम, टेलिफोन नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द गर्ने आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।
आयोगले परीक्षालाई मर्यादित बनाउन राजपत्रांकित, संस्थान र राजपत्रअनंकितका  अधिकृतस्तरका कर्मचारीलाई केन्द्राध्यक्ष बनाएको छ । परीक्षालाई व्यवस्थित बनाउन विद्यालयमा केन्द्र राखे पनि शिक्षकलाई केन्द्राध्यक्ष नबनाएर अधिकृतस्तरका कर्मचारीलाई केन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगी राखिएको भट्टराईले जानकारी गराए ।
परीक्षा सञ्चालनका लागि एक हजार आठ सय ४७ केन्द्राध्यक्ष, तीन हजार ६ सय ९४ सहायक केन्द्राध्यक्ष, २४ हजार ६८ निरीक्षक र सात हजार तीन सय ८८ सहयोगी कर्मचारी खटाएको छ । आयोगले परीक्षामा अमर्यादित कार्य गर्ने केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीलाई ६ महिना कारावास वा एक वर्ष कैदको व्यवस्था गरेको छ ।
परीक्षालाई व्यवस्थित बनाउन नेपाली अक्षरको वर्णानुक्रमअुनसार परीक्षार्थीको सिट प्लानको व्यवस्था गरिएको छ । अशोजको पहिलो सातासम्ममा लिखितको परीक्षाफल प्रकाशन गर्ने तयारी रहेको प्रशासकीय प्रमुख नेपालले जानकारी गराए । उनका अनुसार   कात्तिक मसान्तभित्र अन्तर्वार्ता लिई जिल्ला शिक्षा कार्यालयलाई नयाँ शिक्षक दिइनेछ ।

प्रतिक्रिया