अवैध हतियार संकलन षड्यन्त्र : बुढामगर

Santosh-Buda-Magarरोल्पा, ९ जेठ । नेकपा–माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढामगरले सरकारले गरेको अवैध हातहतियार संकलन कार्य गम्भीर षड्यन्त्र भएको बताएका छन् । नेकपा–माओवादी रोल्पाले बुधबार लिवाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बुढामगरले यस्तो धारणा राखेका हुन् ।
पार्टी प्रशिक्षणका लागि गृहजिल्ला रोल्पामा आएका नेता बुढामगरले भने, ‘हामीले खिया लागेका भरुवा बन्दुकबाट जनयुद्ध सुरु गरेको थियौँ, फेरि नेकपा–माओवादीले पनि गाउँमा रहेका ती भरुवा बन्दुकको बलमा जनयुद्ध गर्न सक्ने आशंकामा अवैध हतियारको नाममा सर्वसाधारणले आफ्नो अन्नबालीको संरक्षणका लागि राखिएका भरुवा बन्दुक सरकारले लुटेको हो । यसका पछाडि गम्भीर षड्यन्त्र छ ।’ मगराँत राज्य समिति इन्चार्जसमेत रहेका नेता बुढामगरले सरकारले सञ्चालन गरिरहेको एकीकृत घुम्ती शिविरको नाममा गैरनेपालीलाई नागरिकता दिने षडयन्त्र भइरहेको समेत आरोप लगाए ।
‘घुम्ती शिविरका नाममा गैरनेपालीलाई समेत नागरिकता दिने दुष्कार्य गरिएको छ, तसर्थ हाम्रो पार्टीले अवरोध गरिरहेको छ,’ उनले भने, ‘अहिलेसम्म शिविरमार्फत सरकारले २२ लाख गैरनेपालीलाई नेपाली नागरिकता दिइसकेको छ ।’ ४० लाख विदेशीलाई नेपाली नागरिकता दिने सरकारको उद्देश्य रहेको नेता बुढामगरले खुलासा गरे ।
आफ्नो पार्टीले निकट भविष्यमै सञ्चालन गर्न लागेको मगराँत जनप्रतिरोध अभियानमार्फत जनतालाई यस विषयमा स्पष्ट पार्ने उद्घोष गर्दै नेता बुढामगरले वर्तमान अवस्थामा जनताको पक्षमा बोल्ने राष्ट्रको चिन्ता गर्ने आफ्नो पार्टी मात्र भएको दाबी गरे ।

प्रतिक्रिया