‘खेताला विद्यार्थी’लाई मताधिकार नदिइने

TUकाठमाडौं, ९ जेठ । एकमुष्ट रूपमा भर्ना भएका विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा मताधिकार नपाउने भएका छन् । एकमुष्ट भर्नाले स्ववियु चुनाव निष्पक्ष नहुने देखिएपछि त्रिभुवन विश्वविद्यालयले त्यस्ता विद्यार्थीलाई मतदानमा सहभागी नगराउने भएको हो ।
त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच बुधबार भएको छलफलमा एकमुष्ट भर्ना गरिएका विद्यार्थीलाई मतदानमा सहभागी नगराउने सहमति भएको हो । त्रिविका रेक्टर गुणनिधि न्यौपानेले स्ववियु चुनावको परिणाम आफ्नो पक्षमा पार्नका लागि गरिएका  एकमुष्ट भर्ना भएका विद्यार्थीले मतदान गर्न नपाउने सहमति भएको जानकारी गराए । ‘एकमुष्ट भर्नाले स्ववियु चुनाव प्रभावित पार्ने देखियो । विद्यार्थी संगठनले नै त्यस्ता विद्यार्थीलाई पनि चुनावमा सहभागी नगराउन माग गरे,’ रेक्टर न्यौपानेले भने, ‘त्यसैले एकमुष्ट भर्नालाई मताधिकार नदिने सहमति भएको हो । पढाइबाट भने वञ्चित गराउने छैनौँ ।’ त्रिविले केही दिनभित्र क्याम्पसहरूलाई एकमुष्ट भर्ना गरिएका विद्यार्थीलाई मतदानमा सहभागी नगराउन सर्कुलर जारी गर्ने भएको छ ।
एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी, एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र कांग्रेसनिकट नेपाल विद्यार्थी संघले चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि रातारात एकमुष्ट
भर्ना गरेका थिए । सबैभन्दा बढी कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस, प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर), मीनभवनको नेपाल कमर्स क्याम्पस, ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस, पाटनको पाटन संयुक्त क्याम्पस र घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा एकमुष्ट विद्यार्थी भर्ना भएका थिए ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पनि एकमुष्ट भर्ना भएका विद्यार्थीलाई चुनावमा सहभागी नगराउने सहमति भएको जानकारी गराए ।
नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले एकमुष्ट रूपमा गरिएका भर्ना खारेजीको माग गदै त्रिवि केन्द्रीय क्याम्पस र आरआर क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । उसले एकमुष्ट भर्ना खारेज नगरे चुनावै हुन नदिने चेतावनी दिएको थियो ।
घाइतेका नामको भर्ना खारेज गरिने
त्रिविको सिफारिसविना जनआन्दोलनका घाइते तथा अपांगका नाममा भएका भर्ना खारेजी गरिने भएको छ । विद्यार्थी संगठनले त्रिवि विद्यार्थी कल्याण शाखाको सिफारिसविना नै जनआन्दोलनका घाइते र अपांगका नाममा सय रुपियाँ तिरेर सयौँ भर्ना गरेका थिए । एक शैक्षिक सत्रमा एउटा संकायमा मात्र विद्यार्थी कल्याण शाखाबाट सिफारिस लिएर जनआन्दोलनका घाइते र अपांग विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था छ । चुनाव जित्नका लागि विनासिफारिस अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले जनआन्दोलनका घाइते र अपांगका नाममा विद्यार्थी भर्ना गरेका थिए । त्रिविले तीन सयको हाराहारीमा जनआन्दोलन घाइते र अपांगलाई सिफारिस गरे पनि करिब सात सयको संख्यामा विभिन्न क्याम्पसमा भर्ना भएका छन् ।
त्यस्तै, प्रक्रिया नपुर्‍याई गरिएका भर्ना पनि खारेजी गर्ने सहमति पनि भएको छ । प्रक्रिया नपुर्‍याई भर्ना गर्ने कर्मचारी र भर्ना हुने विद्यार्थीलाई कानुनी कारबाही गरिने भएको छ ।
विद्यार्थी संगठनबीच बुधबार त्रिविले चुनावको समयमा सुरक्षा व्यवस्था कडा पार्ने र कर्मचारी सरुवा नगर्ने सहमति पनि भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी गराए ।

प्रतिक्रिया