पूर्वसभासद्को बीभत्स हत्या

Sadrul Minya Hakराजविराज, ८ जेठ । पूर्वसभासद् सदरुल मियाँ हकको हत्या भएको छ । धारिलो हतियारले छियाछिया बनाइएको उनको शव मंगलबार बिहान फेला परेको छ ।
आइतबार राति साथी रामेश्वर साहकी छोरीको बिहे भोजमा सहभागी भएर बिहान करिब २ बजे सप्तरीको कल्याणपुर–२ स्थित आफ्नै हुमा पेट्रोल पम्पको एक कोठामा सुतेका पूर्वसभासद् हक बिहान ८ बजे मृत फेला परेका थिए । बिहेभोजको घरबाट उनी आफ्नै स.२प ८५८३ नम्बरको मोटरसाइकल चढेर पेट्रोल पम्पमा आएका थिए ।
धारिलो हतियारले घाँटी रेटेर पूर्वसभासद् हकको हत्या गरिएको छ । शरीरका विभिन्न भागमा हतियारले रेटेको डाम छ । पूर्वसभासद् हकको हत्या भएको खबर पाएपछि सप्तरीका डिएसपी श्यामसिंह चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । हत्या कसले र किन गरेको हो भन्ने अझै केही नखुलेको प्रहरीले जनाएको छ । त्यस विषयमा अनुसन्धान भइरहेको डिएसपी चौधरीले बताए ।
पूर्वसभासद् हक राति सुतेको ओछ्यान र झुलमा रगतका टाटा छन् । घटनास्थल हेर्दा उनको हत्या गर्दा लछारपछारसमेत गरिएको देखिन्छ । कोठाका सबै झ्याल खुला छन् । हत्याराले झ्यालबाटै छिरेर हत्या गरेको आशंका गरिएको छ ।
प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा घटनास्थलदेखि करिब ४ सय मिटर उत्तर काँसघारीमा रगतले लतपत सर्ट र चप्पल फेला पारेको छ । सप्तरीका एसपी सञ्जयसिंह बस्नेतले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र दोषी कुनै पनि हालतमा उम्कन नसक्ने बताए । मंगलबार राति अबेरसम्म पनि प्रहरीले हत्यामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन ।
कल्याणपुर–२ मै स्थायी घर भएका हक बिहान अबेरसम्म पनि घर नआएपछि खोजतलास गर्दै परिवारका सदस्य बिहेभोज भएको घरमै पुगेका थिए । त्यहाँ पनि नभेटिएपछि पेट्रोल पम्पमा जाँदा उनको शव फेला परेको थियो ।
पाँच दाजुभाइमध्ये जेठा पूर्वसभासद् हककी श्रीमती, २ छोरा र ३ छोरी छन् । परिवारका सबै सदस्य अचेत अवस्थामा छन् । अघिल्लो संविधानसभा चुनावमा सप्तरीको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव जितेका थिए । त्यसअघि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनले सप्तरीमा पेट्रोल पम्प, स:मिल, इँटाभट्टालगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएका थिए ।
यसैबीच, हत्याको विरोधमा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै प्रदर्शन गरेका छन् । गृहमन्त्री माधव घिमिरे घटनास्थलमा नआएसम्म हकको शव नउठाउने उनीहरूले बताइरहेका छन् । जिल्ला सदरमुकाम राजविराजमा पनि स्थानीय युवाले टायर बालेर प्रदर्शन गरेका छन् । राजविराज बजार पूर्णरूपमा बन्द गराइएको छ । ‘प्रहरी प्रशासन मुर्दावाद’, ‘हत्या र अपहरणका शृंखला बन्द गर’लगायतका नारा लगाउँदै उनीहरू प्रदर्शनमा छन् ।
सप्तरीका राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, एसपी सञ्जय सिंह बस्नेतलगायतको टोली घटनास्थल पुगेको थियो । प्रदर्शनकारीले एसपी बस्नेतको गाडीमा समेत ढुंगामुढा गरेका छन् । प्रदर्शनकै क्रममा भिडले हानेको ढुंगा लागी सशस्त्र प्रहरीका असइ दीपेन्द्र भुजेल र जवान रमेश थापा घाइते भएका छन् । उनीहरूको टाउको फुटेको छ ।
पूर्वसांसद हक स्थानीय स्तरमा लोकप्रिय थिए । उनी अधिकांश समय आºनो निर्वाचन क्षेत्रमा रहने गर्थे । परिवारका सदस्यलाई उनले आफू असुरक्षित रहेको भनेर कहिल्यै बताएका थिएनन् ।
छानबिन समिति गठन

पूर्वसभासद् सदरुल मियाँ हकको हत्या घटना छानबिन गर्न सरकारले नेपाल प्रहरीका एआइजी दिनकरशमशेर राणाको संयोकत्वमा समिति गठन गरेको छ ।
गृह मन्त्रालयका अनुसार छानबिन समितिमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वाञ्चल निर्देशक पुष्करप्रसाद चापागार्इं र डिआइजी पर्शुराम खत्री सदस्य छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
पूर्वसभासद् हकको सोमबार राति अज्ञात व्यक्तिले बीभत्स हत्या गरेका थिए । राति आºनै पेट्रोलपम्पको एक कोठामा सुतेका उनी बिहान मृत फेला परेका थिए ।

प्रतिक्रिया