मोटरसाइकल पुग्दा अबिरजात्रा

उदयपुर,  ६ जेठ ।  उदयपुरको उत्तरवर्ती विकट गाविस जाँतेमा पहिलोपटक मोटरसाइक पुगेको छ । बाटो पुगेपछि पहिलोपटक सदरमुकाम गाईघाटबाट पुगेका पाँचवटा मोटरसाइल चालकलाई स्थानीय आमा समूहले फूल माला र अविरजात्रा  गरेका छन् । लामो समयसम्मको स्थानीयको अथक प्रयासपछि मोटरबाटो पुग्दा स्थानीयले खुसियाली मनाएका हुन् ।
‘जाँतेमा गाडी आउँछ भनेर मैले कल्पनै गरेको थिइनँ,’ स्थानीय सीताराम कार्कीले भने, ‘अब भने जाँतेवासीको सुखका दिन आउने भयो ।’ सदरमुकाम गाईघाटदेखि करिब ५० कोस उत्तरमा रहेको जाँतेमा करिब २० वर्षको प्रयासपछि मोटरबाटोसँगै मोटरसाइकल पुगेका हुन् । उदयपुरको कटारी, बेतिनी, रूपाटार, झिल्के, नगरे, खलंगा हँुदै जाँते पुर्‍याइएको मोटरबाटो निर्माणकार्य सम्पन्न भएपछि स्थानीयवासी उच्चमावि जाँतेनजिक बसपार्क निर्माणमा जुटेका छन् ।
सदरमुकाम गाईघाटबाट पहिलोपटक शिक्षकद्धय यादवकुमार कार्की र जनार्दन भट्टराई, स्वास्थ्य चौकी जाँतेका सिअहेव फिरोज अलि राइन, व्यापारी  शेरजंघ खत्री, सञ्जय कार्की ढोली  र पत्रकार सचिन भट्टराईले मोटरसाइकल पुर्‍याएका हुन् । उनीहरूको स्वागतका लागि जाँते गाविसलगायत बलम्ता र लाफागाउँका स्थानीयवासी जाँतेमा ओइरिएका थिए । उनीहरूलाई आरुबखडा र फूलको माला लगाइदिएका थिए । ‘यहाँसम्म मोटरसाइकल आइपुग्ला भन्ने कल्पनै गरेको थिइनँ,’ स्थानीय बालमन्दिर माविका प्रधानाध्यापकसमेत रहेका यादवकुमार कार्कीले भने, ‘पहिलोपटक ट्रयाक खोलेको मोटरबाटो अपेक्षा गरिएको भन्दा राम्रो भएछ, यसमा पनि केही बजेट थपेर पुन: निर्माण गर्ने हो भने अब सिधँै जाँते गाईघाट ओहोर दोहोर गर्न सकिन्छ ।’
वर्षौअघि कटारीदेखि रूपाटारसम्म मोटरबाटो निर्माण गरिए पनि पछिल्लो दुई वर्ष यता नामेटार–१ माझखर्कसम्म मात्र मोटरबाटो पुगेको थियो । स्थानीय बासीको सक्रियताका कारण माझखर्कदेखि लोखृमथुम्मासम्म खनिएको बाटोलाई पूर्णता दिँदै यस वर्ष जाँते पुर्‍याएका हुन् । लोखृमथुम्कादेखि करिब चार किलोमिटर मोटरबाटो यसवर्ष निर्माण गरिएको हो ।
‘बजेट पनि थोरै थियो,’ बाटो निर्माण समितिका अध्यक्ष मेघबहादुर कार्कीले भने, ‘सर्वे गरेअनुसार बाटो निर्माण गर्दा भेटिएको चट्टानमा नै करिब तीन लाख सकियो अहिले ट्रयाक चेन्ज गरेर ल्यायौँ ।’ गतवर्ष जिल्ला विकास समितिको चार लाख र गाविसको ११ लाख गरी कुल १५ लाखको लागतमा दोबाटेदेखि लोखृमथुम्कासम्म ६ किलोमिटर मोटरबाटो निर्माण गरिएको थियो । यसवर्ष गाविसको ५० हजार, जिविसको पाँच लाख र आगामी वर्ष गाविसले तिर्ने सहमतिमा उच्चमावि जाँतेबाट  सापटी लिएको १० लाख गरि कुल १५ लाखको लगानीमा चार मिलोमिटर मोटरबाटो निर्माण गरिएको समितिका अध्यक्ष कार्कीले बताए । बुबाको पालामा कल्पना गरिएको कुरा यसवर्ष पूरा भयो स्थानीय ७८ वर्षीय प्रेमबहादुर कार्कीले भने, ‘नमरिबाँचे परिवर्तन हेर्न पाइदोरहेछ ।’

प्रतिक्रिया