एमाले पोलिटब्युरो सदस्य अर्याल एमाओवादीमा

urmilaकाठमाडौं, ५ जेठ । एमाले पोलिटब्युरो सदस्य उर्मिला अर्याल एकीकृत माओवादीमा प्रवेश गरेकी छिन् । शनिबार एमाओवादीको कोटेश्वरस्थित मुख्यालयमा आयोजित समारोहमा अर्याल र अभिनेत्री रेखा थापा एमाओवादी प्रवेश गरेका हुन् ।
एमाओवादीले सशस्त्र युद्धको कार्यनीति लिनुअघि सोही समूहमा रहेकी नेत्री अर्याल पछि एमाले प्रवेश गरेकी थिइन् । माओवादीले युद्धको कार्यनीति छाडेर शान्तिपूर्ण राजनीतिमा फर्केको सात वर्षपछि उनी फेरि पुरानै पार्टीमा फर्केकी हुन् ।
एमालेका तर्फबाट सांसद् र मन्त्रीसमेत भइसकेकी अर्याल पछिल्लोपटक एमाले भगिनी संगठन अखिल नेपाल महिला संघको अध्यक्ष बन्न नपाएपछि पार्टीसँग असन्तुष्ट थिइन् । पर्साबाट अनेमसंघको प्रतिनिधि हुन नसकेपछि अर्कै जिल्लाबाट प्रतिनिधि बनेर गएकी अर्यालको प्रतिनिधित्व नै बदर भएको थियो । त्यसै बेलादेखि एमालेसँग असन्तुष्ट रहेकी अर्याल शनिबार एमाओवादी प्रवेश गरेकी हुन् । स्रोतका अनुसार उनलाई एमाओवादीले स्थायी समिति सदस्य बनाउने आश्वासन दिएको छ ।
अर्यालसँगै अभिनेत्री रेखा थापा पनि एमाओवादीमा प्रवेश गरेकी छन् । तीन वर्षअघि नै द्वन्द्व निर्देशक राजेन्द्र खड्गीसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाएर एमाओवादी प्रवेश गरेकी थापा पुन: एमाओवादी प्रवेश गरेकी हुन् । एमाले नेत्री अर्याल र थापालाई शनिबार अध्यक्ष दाहालले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया