स्ववियु पुन:संरचनाको बहस

लामो समयपछि  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको थियो । ठूलै रस्साकस्सी र पुन:संरचनाको बहसबीच त्रिविले जेठ १३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर, केहीलाई स्ववियुको पुन:सरंचना गरिने कुरै चित्त बुझेन र त्यसविरुद्ध सर्वोच्च अदालत गए । सर्वोच्चले पनि तत्काललाई प्रक्रिया रोक्नु भन्दै अन्तरिम आदेश दिए पनि पूर्ण फैसलाले भने पुन:संरचनाको नयाँ मोडलअनुरूप नै स्ववियु निर्वाचनको मार्ग प्रशस्त गरिदियो । यतिबेला नयाँ निर्वाचन प्रणालीसहित स्ववियुको संरचनामाथिको व्यापक बहससँगै तोकिएको निर्वाचनले फेरि एकपटक स्ववियुलाई पुन: जागृत गर्नेछ ।
राष्ट्रिय निर्वाचनमा भलै भोट खसाल्न नपाइएको होस तर स्ववियु निर्वाचनमा भोट खसालेरै भए पनि युवा विद्यार्थीले लोकतन्त्रको अभ्यास गर्नेछन् । अहिले स्ववियुको पुन:संरचनासँग जोडेर गरिएको नयाँ निर्वाचन प्रणाली र व्यवस्थाले स्ववियुको वास्तविक  पुन:संरचना गर्न नसेके पनि केही सकारात्मक कार्य थाल्नेछ । स्ववियुको पुन:संरचना गर्न र यसलाई लोकप्रिय बनाइराख्ने हो भने यसको अन्तरवस्तुमा पुन:संरचना गरिनुपर्छ । कति उमेरका उठ्ने, कति जना उठ्ने, कति प्रत्यक्ष निर्वाचित हुने र कति समानुपातिक हुने ? कति विद्यार्थी भर्ना भएका ठाउँमा कति सदस्यीय स्ववियु बनाउने भन्ने कुरालाई मात्रै स्ववियुको पुन:संरचनासँग जोडेर हेरियो भने त्यो सतही कुरा हुनेछ । मुख्य कुरा स्ववियुलाई अझै मर्यादित र लोकप्रिय संस्था कसरी बनाउन सकिन्छ भन्ने नै हो, जुन अहिले गरिएको पुन: संरचनाको खाकाले खासै समेट्न सकेको देखिन्न ।
पञ्चायतकालीन निरंकुशताका दौरान स्ववियु लोकतान्त्रिक अभ्यासको एक मात्र साझा मञ्च थियो भने लोकतन्त्रका पक्षमा वकालत गर्न पाउने वैधानिक सस्ंथा पनि । राजनीतिक दलहरू प्रतिवन्धित थिए, पञ्चायत स्वघोषित निर्विकल्प प्रजातन्त्र थियो । दलका नेताहरू कोही जेलको चिसो छिँडीमा कोचिएका थिए त कोही भूमिगत जीवन बिताइरहेका थिए । लोकतन्त्रका पक्षमा आवाज उठाउनु जघन्य अपराध ठहरिन्थ्यो ।  जनताका मौलिक हकअधिकारका पक्षमा बोल्नेहरूलाई कथित राजद्रोहको पगरी भिडाइन्थ्यो । यस्तै निरंकुशताको समयमा स्वतन्त्रताको विगुल फुक्ने स्ववियु जनताको एकमात्र सर्वमान्य संस्था थियो । जो नि:सन्देह लोकतन्त्र र जनताका पक्षमा आफ्नो सम्पूर्ण शक्ति खर्चिन्थ्यो । दलहरू प्रतिबन्धित हुँदा, जनताका अधिकार कुण्ठित हुँदा विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनमार्फत लोकतन्त्रको अभ्यास गर्थे । अझ झनै विद्यार्थी संगठनहरूले स्ववियुमार्फत नै राजनीतिक दलका लोकतान्त्रिक विचारहरू जनतासमक्ष पुर्‍याउँथे । जयतु संस्कृतमका नामबाट सुरु भएको नेपाली विद्यार्थी आन्दोलन विसं २०२२ मा अखिलको स्थापना र २७ सालमा नेपाल विद्यार्थी संघको स्थापनाले संस्थागत मजबुत भएको मानिन्छ । जहानियाँ राणा शासन, निरंंकुश पञ्चायत र ज्ञानेन्द्रको निरंकुशता पल्टाउने आन्दोलनको जग यिनै विद्यार्थीहरूको पहलमा खडा भएको हो । ज्ञानेन्द्र ‘कू’ का विरुद्ध सडकमा मसाल बाल्ने पहिलो शक्ति विद्यार्थी नै थियो । सडकमा गणतन्त्रको नारा लगाउने पनि यिनै विद्यार्थी थिए जसले निरंकुशतासँग कहिल्यै सम्झौता गरेन्  न  मृत्युसँग नै । इतिहासका प्रत्येक कालखण्डमा महत्त्वपूर्ण भूमिका खेलेको विद्यार्थी आन्दोलन आफ्नो गर्विलो इतिहासका बाबजुद हिजोआज कताकता कमजोर बन्दै गइरहेको भान हुन थालेको छ । विद्यार्थी आन्दोलनले लोकतन्त्रको श्रेय पाउनुपर्ने हो तर विडम्बना विद्यार्थी आन्दोलन, संगठन र स्ववियु भन्नेवित्तिकै ओठ लेप्र्याउने र नाक खुम्च्याउनेको संख्या क्रमश: बढिरहेको छ । लोकतन्त्रको पर्यायका रूपमा स्थापित विद्यार्थी आन्दोलन आज ढुंगामुढा र चक्काजामको पर्याय मानिन्छ । उतिबेला विद्यार्थीले ढुंगामुढा आजकलभन्दा बढी हान्थे । चक्का जाम, टायर बाल्ने, पुत्ला जलाउने काम पनि यतिबेलाभन्दा उतिबेला नै बढी हुन्थ्यो । तर, आज विद्यार्थी आन्दोलनको नाम सुन्दा नाक खुम्च्याइन्छ । जबकि उतिबेला गर्वले शिर ठाडो हुन्थ्यो । म विद्यार्थी आन्दोलनमा सरिक छु भन्नेहरूले समाजमा सम्मान पाउँथे उतिबेला । आज म विद्यार्थी आन्दोलनमा सरिक छु भनियो भने समाजमा नाक खुम्च्याइन्छ । यिनै विद्यार्थी नेता आज टेन्डर कब्जा, गुन्डागर्दी र अवैध यौन क्रियाकलापमा समेत सामेल भएका छन् ।
स्ववियु विद्यार्थी अधिकारका पक्षमा भन्दा पनि सत्ताका रूपमा रूपान्तरित बन्दै गइरहेको छ । स्ववियु सत्ता अनि आम विद्यार्थी शासित वर्गका रूपमा रूपान्तरित भएका छन् । लोकतन्त्रको साझा झन्डा बोक्ने विद्यार्थी संगठनहरू आज पार्टीका झन्डा मात्रै बोकिरहेका छन् र पार्टीकै राजनीतिक अभीष्ट पूरा गराउन लागिपरेका छन् । विद्यार्थीका हकअधिकार गौण, प्राज्ञिक एजेन्डा गौण तर पार्टीको राजनीतिक एजेन्डा सर्वाेपरि बन्दै छ र विद्यार्थी संगठनहरू सोही अभीष्टलाई आफ्नो गन्तव्यका रूपमा चित्रित गर्दै दिलोज्यान दिएर समर्पित भइरहेका छन् । वैचारिक सामिप्यता त हुनुपर्छ तर त्यसको अन्धभक्त बन्नु भने हुँदैन् । लोकतन्त्रको वकालत गर्न उतिबेला स्थापना भएको स्ववियु आजकल पार्टीको एजेन्डा लागू गर्ने स्थल बनिरहेको छ । विद्यार्थी संगठनहरू आफ्नो मूल एजेन्डाबाट पूर्णत विमुख भइसकेका छन् । राम्रोसँग अध्ययनका अलवा विद्यार्थी आन्दोलनमा सरिक भइसकेकपछि त्यसको इतिहासलाई बचाउँदै नयाँ उचाइमा पुर्‍याउनु उसको अर्काे महत्त्वपूर्ण दायित्व हुन आउँछ । विद्यार्थी आन्दोलनको इतिहासलाई बचाउँदै नयाँ उचाइमा पुर्‍याउनु भनेको लोकतन्त्रका पक्षमा अहोरात्र उभिनु र प्राज्ञिक उन्नयन र गुणस्तरीय शिक्षा प्राप्तिका लागि नयाँ शिराबाट अभियान चलाउनु नै हो ।
स्ववियुको आकार, उमेरको सीमा, निर्वाचन प्रणाली र समावेशीताको नाराले मात्रै स्ववियुको पुन:संरचना सम्भव देखिनु हुन्न । मुख्य कुरा यसले उठान गर्ने गतिविधि, क्याम्पसको स्वच्छ शैक्षिक वातावरण निर्माणमा यसले खेल्ने भूमिका, विद्यार्थीको श्रवणशीलताको प्रवर्धनमा स्ववियुको भूमिका नै यसको पुन:संरचनासँग जोडिएको प्रधान विषय हुन् । स्ववियुको आर्थिक गतिविधिको पारदर्शिता अर्काे महत्त्वपूर्ण पुन:संरचनाको विषय हो । स्ववियुलाई सत्ता बन्नबाट रोकेर सबै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन सघाउने साझा मञ्च कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भले यसको पुन:संरचनाको बहसमा महत्त्व पाउनु जरुरी छ । निर्वाचन सत्ता आरोहणको माध्यम होइन आम विद्यार्थीले आफ्नो अधिकारको रक्षाका लागि आफ्नो प्रतिनिधि चुन्ने अवसरका रूपमा स्थापित हुनुपर्छ । त्यो प्रक्रियाको सुनिश्चितता कसरी गर्न सकिन्छ भन्ने विषयले पुन:संरचनाको बहसमा प्रधानता पाउनुपर्छ । स्ववियुको पुन:संरचनासँग जोडिएको अर्को महत्त्वपूर्ण मुद्दा हो शैक्षिक प्रणालीमा सुधार । सबै विद्यार्थी संगठनहरूले शैक्षिक गुणस्तरका पक्षमा ठूलाठूला स्वरमा चिच्याउने गरेका छन् । हाम्रो शैक्षिक प्रणालीमा यो भएन, त्यो भएन भनेर भाषण गर्ने गरेका छन् तर शिक्षा प्रणालीमा के चाहिएको हो त्यसको आधार के हुन सक्छ भनेर कसैले आजसम्म उपलब्धिपूर्ण ठोस आधार दिन सकेका छैनन् । अब विद्यार्थी संगठनहरूले स्ववियु पुन:संरचनाको बहसमा यी विषयमा आ–आफ्ना स्पष्ट धारणा प्रस्तुत गर्न सक्नुपर्छ । यो केवल स्ववियुको पुन:संरचनामा मात्रै सीमित छैन् सिंगो शैक्षिक पुन:संरचना र विद्यार्थी आन्दोलनकै पनि पुन:संरचनासँग सम्बन्धित छ । यसले नयाँ स्ववियु, नयाँ शैक्षिक गन्तव्य र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइ अनि नयाँ पहिचान दिलाउनेछ । विद्यार्थी आन्दोलनका विरासत जोगाउने वा भत्काउने अब निक्र्यौल गर्ने समय भएको छ । पञ्चायती शासनका विरुद्ध लोकतन्त्रको आवाज बुलन्द गर्न खडा गरिएको स्ववियुको मञ्चले लोकतान्त्रिक गणतन्त्रकालीन नेपाल विद्यार्थी आन्दोलनको मर्मलाई समेट्न सक्छ या सक्दैन ? प्रश्न अनुत्तरित छ ।

प्रतिक्रिया