खडेरीले मकैको बिरुवा सखाप

Makaiगाईघाट, १ जेठ । लामो खडेरीले मकैको बिरुवा सखाप भएका छन् । केही समययता तापक्रम बढ्दै गएर वर्षा नहुँदा उदयपुरलगायत जिल्लाका विभिन्न स्थानमा लगाइएको मकैबाली मर्ने अवस्थामा पुगेका छन् ।
पर्याप्त वर्षा नभएपछि उदयपुरको पूर्वी तथा पश्चिमी भेगलगायत जिल्लाका पहाडी गाविसमा लगाइएको मकैका बिरुवा मर्न थालेको स्थानीय कृषक बताउँछन् । उदयपुर बसाहा गाविसका कृषक हर्कबहादुर खत्री भन्छन्, ‘सुरुमा मकैको बिरुवा राम्रो उम्रन थालेको थियो, पर्याप्त वर्षा नहुँदा यो वर्ष मकैबाट आफूहरूलाई घाटा हुने अवस्था आयो ।’ तपेश्वरी–३ का पुष्पप्रसाद भट्टराईको धारणा पनि उस्तै छ । ‘सुरुमा गाउँमा मकैको बिरुवा राम्रो आएको थियो  तर पर्याप्त वर्षा नहुँदा आधा मकैका बोट मरिसके । अझै वर्षा नहुने हो भने बाँकी पनि मर्ने अवस्थामा छन्, भट्टराईले भने ।
चैतको पहिलो साता नै उदयपुरको तराई क्षेत्रमा मकै लगाइने गरिन्छ । चैतको सुरुमा सामान्य वर्षा भए पनि त्यसपछि वर्षा नहुँदा जिल्लाको तपेश्वरी, बसाहा, बेल्टार, सुन्दरपुर, हँडिया, जोगीदह गाविसमा मकै मर्न थालेको स्थानीयको गुनासो छ ।
जिल्लाका पहाडी गाविस बलाम्ता, ताम्लिछा, लाफागाउँ, जाँते, आँपटार ठानागाउँ, रौता, पोखरे, भुटार, बराहामा पनि अवस्था उस्तै छ । जिल्लाको पश्चिमी भेगका गाविस कटारी, त्रिवेणी, सिरिसे, हर्देनी, मयङखु, रूपाटार क्षेत्रमा भने दुई दिनअघि सामान्य वर्षा भएका कारण मर्न बालीलाई राहत भएको कटारी–४ का पूर्णबहादुर तामाङले बताए ।
जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार जिल्लाका करिब ७६ प्रतिशत भूभागमा मकै लगाउने गरिन्छ । तर, प्रत्येक वर्ष पर्याप्त वर्षा नहुँदा ५० प्रतिशत मात्र उत्पादन हुने गरेको छ ।
मुसुरो उत्पादनमा ह्रास
कैलाली : यो वर्ष मुसुरो उत्पादनमा ६० प्रतिशतले कमी आएको छ । हिउँदमा परेको पानी खेतमा जमेपछि मुसुरो पहेलिएर सडेकाले उत्पादनमा कमी आएको हो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष कैलालीमा २१ हजार पाँच सय हेक्टर क्षेत्रफलमा मुसुरो खेती गरिएकामा उत्पादन १२ हजार नौ सय मेट्रिक्टन भएको छ ।
गत वर्ष सोही क्षेत्रफलमा २१ हजार पाँच सय मेट्रिक्टन मुसुरो उत्पादन भएको थियो । यस वर्ष गत वर्षको भन्दा आठ हजार ६ सय मेट्रिक्टनले मुसुरो उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय कैलालीका बागवानी विकास अधिकृत गिरिशराज जोशीले बताए ।
उनका अनुसार हिउँदमा पानी परेका कारण मुसुरो मात्र नभई अन्य दलहनबाली चना, मटर आदिको उत्पादनमा पनि कमी आएको छ ।

प्रतिक्रिया