श्रीमतीमाथि नै किर्ते

काभ्रे, १ जेठ । सदरमुकाम धुलिखेलका जग्गा किर्ते भइरहेको घटना सार्वजनिक भइरहेका बेला ०५१ सालमा श्रीमतीलाई पास गरिदिएको जग्गा श्रीमान्ले ०६८ सालमा किर्ते गरी पटकपटक पास गरेको खुलेको छ । खनालथोक–५ दाप्चाका भुवनविक्रम अधिकारीले आफ्नै श्रीमती सान्नानी अधिकारीलाई किर्ते गरी सान्नानीका नाममा भएको जग्गा आफ्नो नाममा पास गरी पुन: सान्नानीकै नाममा किर्ते गरेरै पास गरिदिएको सार्वजनिक भएको छ ।
मालपोत कार्यालयका कर्मचारी र लेखनदासको मिलेमतोमा जग्गा किर्ते गरेको हुनसक्ने आशंका गरिएको छ । लिखत लेखनदास सुशीलकुमार प्रजापतिले तयार गरेका थिए । मालपोत कार्यालयले स्रेस्तामा फोटो टाँस गर्नुपर्ने अनिवार्य गरे पनि कर्मचारीको मिलेमतोमा २०६८ साल जेठ २ गते किर्ते गरी पास गरिएको लालपुर्जा तयार गर्दा जग्गाधनीको फोटो टाँस नगरिएको पाइएको छ । यसले पनि किर्तेमा लेखनदास र कर्मचारीको मिलेमतो भएको आशंका गरिएको पीडित सान्नानीले बताइन् ।
भुवनविक्रम अधिकारीले ०४० सालमा विवाह गरेकी जेठी श्रीमती सान्नानी अधिकारीलाई ०५१ सालमा वकसपत्र गरी दिएको ३ कित्ता जग्गा २०६८ साल जेठ २ मा आफ्नै नाममा पास गरी पुन: ०६९ साल मसिंरमा श्रीमती सान्नानीकै नाममा फर्काइदिएको मालपोत कार्यालयको स्रेस्ताबाट खुलेको छ । श्रीमतीकै नाममा जग्गा भए पनि पास गर्दा स्वयं जग्गाधनी नै उपस्थित हुनुपर्ने भए पनि मालपोत कार्यालयको प्रत्यक्ष संलग्नतामा भुवनविक्रम अधिकारीले श्रीमतीको नाममा भएको जग्गा पटकपटक गाउँकै व्यक्तिहरू साक्षी राखी किर्ते गरेका थिए । श्रीमतीको नाममा भएको जग्गा किर्ते गरेलगत्तै जिल्ला अदालत धुलिखेलमा कान्छी श्रीमती ईश्वरीका नामबाट अंश मुद्दा राख्न लगाई म्याद गएपछि मात्रै श्रीमान्ले श्रीमतीमाथि नै किर्ते गरेको तथ्य बाहिर आएको हो । अधिकारीले खनालथोक–३ को कित्ता नम्बर ७७५ को २ रोपनी ६ आना २ पैसा ३ दाम, कित्ता नम्बर ५८३ को २ रोपनी, वडा नम्बर ६ को कित्ता नम्बर १०२१ को १ रोपनी १२ आना जग्गा वकसपत्र गरी पास गरिदिए । मालपोत कार्यालयको ठेली नम्बर १२, पाना नम्बर २७८६ मा रसिद नम्बर ४७६ मा ०५१ साल साउन २६ गते भुवनविक्रम अधिकारीका नामबाट मेरो नाममा नामसारी गरिदिएका थिए । सोही जग्गा पास गरिदिएको १७ वर्षपछि अर्थात् ०६९ भदौ १२ गते श्रीमान् भुवनविक्रम अधिकारीले श्रीमती सान्नानीलाई अंश बुझेको भपाई गराए ।
सान्नानीका दुई सन्तान छन् । सान्नानीलाई अंश बुझेको भपाई गराएर श्रीमान् भुवनविक्रमले मालपोत कार्यालय धुलिखेलमा लेखनदास र कर्मचारीको सहयोगमा आफ्नो नाममा किर्ते गरी ल्याएको जग्गा पुन: श्रीमती सान्नानीको नाममा गराएर कान्छी श्रीमती र छोराछोरीको नामबाट आफैँ र जेठी श्रीमती सान्नानीलाई अंश मुद्दा राख्न लगाए । सान्नानीको नागरिकता र लालपुर्जा उनै श्रीमान् भुवनविक्रमले आफैँसँग राखेका थिए । श्रीमान्ले लालपुर्जा र नागरिकता नदिएपछि प्रतिलिपिका लागि निवेदन दिएर प्रक्रिया अगाडि बढ्नै लाग्दा किर्तेको रहस्य खुलेको हो ।
‘नागरिकता र लालपुर्जा राखेर किर्ते कागज बनाई मेरो नाममा भएको पूरै जग्गा आफ्नो नाममा पास गरेछन् । ०६८ जेठ २ गते मेरो औँठा छाप, म आफैँ उपस्थित नभई साक्षीसमेत राखेर श्रीमान् भुवनविक्रमले घुस खुवाई लेखनदासको सहयोगमा कर्मचारीहरूमार्फत मालपोत कार्यालयको ठेली नम्बर २५ पाना नम्बर ९२ मा रसिद नम्बर ५८९२ बाट भुवनविक्रम अधिकारीकै नाममा पास गरेछन् । जबकि म कहिल्यै मालपोत कार्यालयमा उपस्थित भएकी छैन र मैले सहीछाप गरेको पनि छैन,’ श्रीमती सान्नानीले भनिन् ।
०६८ जेठमा जग्गा आफ्नो नाममा पास गरेर भदौमा अंश बुझेको भपाई गराएर पुन: किर्ते गरी अधिकारीले सोही कित्ताका जग्गा रसिद नम्बर २२७३ मार्फत ०६९ मसिंर २५ गते सान्नानीकै नाममा फिर्ता गरिदिएका थिए । ‘दुवै काममा मेरो उपस्थिति र सहमति छैन । कसरी मेरो नाममा भएको जग्गा मेरो उपस्थितिविना पटकपटक पास भयो,’ उनले भनिन् । सान्नानीको एक छोरा अपांग छन् भने छोरीको विवाह भइसकेको छ । छुट्टै बसेको ७ वर्ष भइसक्दा पनि श्रीमान् भुवन स्वार्थ पूरा गर्न दिउँसै सम्बन्ध राख्न जाने गरेका थिए । तर, सान्नानी भागेर उनीसँगको सम्बन्धबाट पन्छिएकी थिइन् । ०६२ चैत २४ पछि सान्नानीले श्रीमान् भुवनसँग कुनै सम्बन्ध राखेकी छैनन् । उनी कान्छी श्रीमती ईश्वरी रिमालसँग बस्दै आएका छन् । कान्छीका पनि एक छोरी र एक छोरा छन् । भुवन ०४४ सालबाट कृषि विकास बैंकको जागिरे भई केही वर्षअघि मात्रै अवकाश लिएर घरमै बसेका छन् ।

प्रतिक्रिया