रुग्ण उद्योग जोगाउन खोज्दा बैंक नै रुग्ण हुने : गभर्नर

काठमाडौं : सरकारले रुग्ण उद्योगलाई ऋण मिनाहाका लागि गर्ने अनुरोधले बैंकहरू नै रुग्ण हुने अवस्था आउने गभर्नर डा. युवराज खतिवडाले बताए । राष्ट्रिय विकास समस्या समाधान समितिको २९औँ बैठकमा सिंहदरबारमा आइतबार उनले यस्तो भनाइ राखेका हुन् ।
‘उद्योग मन्त्रालयले रुग्ण उद्योगलाई ऋण मिनाहा गरिदिन भन्दै राष्ट्र बैंकमा पत्र पठाउने गरेको छ,’ गभर्नर खतिवडाले भने, ‘सरकारले यो प्रवृत्तिलाई नसच्चाउने हो भने आज उद्योग मात्र रुग्ण बनेकामा भोलि बैंक पनि रुग्ण हुनेछन् ।’ बैंकहरूलाई व्यावसायिक ढंगले स्वतन्त्रतापूर्वक सञ्चालन गर्न दिनुपर्ने उनले बताए ।
यसैगरी, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका बन्द भएका सबै शाखा पुन:स्थापना नहुने पनि उनले स्पष्ट पारे ।  सबै स्थानमा वाणिज्य बैंकका शाखा पुग्नु नपर्ने र साना बैंकहरू विस्तार गर्ने नीति रहेको पनि उनले बताए ।

प्रतिक्रिया