हात्ती आक्रमणबाट मृत्यु

विर्तामोड, ३० वैशाख । जंगली हात्तीको आक्रमणमा परी आइतबार एक वृद्धाको झापामा मृत्यु भएको छ ।  बुधबारे–५ बस्ने ८४ वर्षीया कृष्णकुमारी राईको मृत्यु भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । योसमेत चालु आर्थिक वर्षमा झापामा जंगली हात्तीको आक्रमणमा परी सातजनाको मृत्यु भइसकेको छ ।
घरबाट बाहिर निस्केर घुमफिर गरिहेको अवस्थामा बिहान ५:३० बजे एक्कासी एउटा जंगली हात्तीले आक्रमण गरेपछि उनी गम्भीर रूपले घाइते भएकी थिइन् । मेची अञ्चल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । आसपासको क्षेत्रमा यतिखेर हात्तीको आतंक छाएको छ । स्थानीय मागुरवारी जंगलमा बस्दै आएका हात्ती बाहिर निस्केर मानिसलाई आक्रमण गर्ने गरेका छन् । यतिखेर ती हात्ती पुन: सोही जंगलमा पसेको बताइएको छ ।
यसैबीच, हात्तीको आक्रमणमा परेर मृत्यु भएका परिवारलाई राहतस्वरूप आजै ५० हजार रुपियाँ उपलब्ध गराउने जिल्ला वन कार्यालयका प्रमुख विष्णु भण्डारीले जानकारी गराए । सरकारले हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहतस्वरूप नगद तीन लाख उपलब्ध गराउने नीतिअनुरूप सो रकममध्येबाट उपलब्ध गराउन लागिएको उनले बताए ।

प्रतिक्रिया