प्लास्टिकमुक्त जिल्ला बनाउन विद्यार्थी सक्रिय

गुल्मी, ३० वैशाख ।  विद्यालय उमेरका बालबालिका बिस्कुट, चाउचाउलगायत खान भनेपछि मरिहत्ते गर्छन् । तर, गुल्मीको एक विद्यालयका बालबालिकाले प्लास्टिकमा बेरिएर बेच्न राखिने यस्ता खानेकुरा नखाने घोषणा गरेका छन् । बिस्कुट, चाउचाउलगायतका खाद्य सामग्री प्याक गरिएको प्लास्टिकका कारण प्रदूषण बढ्ने र यसबाट स्वास्थ्यमा नराम्रो असर पर्ने भएकोले उनीहरूले यस्ता खाना नखाने प्रतिबद्धता जनाएका हुन । जिल्लालँई प्लास्टिकमुक्त बनाउने सञ्चालन गरिएको अभियानलाई सघाउने उद्देश्यले उनीहरूले यस्तो घोषणा गरेका हुन् ।
गुल्मीको जैसीथोकमा रहेको पाञ्चायन उच्च माध्यामिक विद्यालयलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । प्लास्टिकको बढ्दो प्रयोगले स्वास्थ्यमा नकरात्मक असर पुर्‍याउनुका साथै विद्यालयमा फोहोरसमेत बढ्ने भएकाले विद्यालयलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । विद्यार्थीहरूले किनेर मात्रै होइन चाउचाउ, मिठाई नि:शुल्क दिए पनि नखाने बताएका छन् । गत वर्ष नेपाल जुनियर रेडक्रस सर्कलहरूको मजुवामा सम्पन्न भएको गोष्ठीले प्रत्येक विद्यालयलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने निर्णयअनुसार आफ्नो विद्यालयलाई पनि प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको जुरेस अध्यक्ष भुपाल रानाले बताए ।
खाजाका रूपमा चाउचाउ, बिस्कुटआदिको प्रयोगमा रोक लगाएपछि पढाइ सञ्चालनमा पनि सहजता हुने प्राचार्य टेकबहादुर श्रेष्ठले बताए । प्लास्टिकले वातावरण र स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जोगिनुका साथै यसको बारेमा समाजमा चेतना जगाउनका लागी विद्यालयलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको जुनियर रेडक्रस सर्कलका सचिव राजन केसीले बताए । जिल्लाका अन्य विद्यालयमा पनि यस्तो अभियान विस्तारै प्रभावकारी बनेको छ ।
यसैगरी बाटोमा डोका झुन्डाएर पुर्कोट दह गाविसले झन्डै २ वर्ष अगाडि सञ्चालन गरेको प्लास्टिक तथा फोहोर संकलन अभियान पनि अहिले जिल्लाका विभिन्न गाउँहरूमा सिको गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्लास्टिकले पार्ने असरको चेतनासँगै गुल्मीमा प्लास्टिकमुक्त जिल्ला बनाउनका लागि थालिएको अभियान पनि विस्तारै सार्थक बनेर गएको छ । अघिल्लो वर्षदेखि उद्योग वाणिज्य संघको पहलमा प्लास्टिकमुक्त जिल्ला बनाउने अभ्यास थालिएको छ । उद्योग वाणिज्यसंघको पहलमा अहिले जिल्लामा कालो प्लास्टिक प्रयोग हुँदैन । ‘हामी जिल्लालाई प्लास्टिकमुक्त बनाउने अभियानमा छौँ, अहिले कालो प्लास्टिकमा प्रतिबन्ध छ,’ उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले भने, ‘विस्तारै तरकारी किनमेलमा बुनेको झोला प्रयोगको चेतना पनि फैलाउँदै छौँ ।’
प्लास्टिकमुक्त जिल्ला बनाउने अभियानअन्तर्गत नै उद्योग वाणिज्य संघको पहलमा शनिबारदेखि गुल्मीमा एक महिने फाइबर झोलाको बुनाई कार्यक्रम सुरु गरेको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय, उद्योग वाणिज्य संघ गुल्मी र जिल्ला विकास समिति गुल्मीको आयोजना तथा आर्थिक सहयोगमा १२ जना बेरोजगार महिलाका लागि आजबाट झोला बुनाइ तालिम प्रदान गरिएको हो । तालिम सञ्चालनका लागि कल्याणकारी महिला समूहबाट १२ जना महिलाहरू छनोट भएका छन् । तालिमका लागि जिल्ला विकास समितिले ५० हजार, घरेलु तथा साना उद्योग कार्यालयले ८० हजार, उद्योगवाणिज्य संघले ४० हजार, जनकल्याणकारी महिला समूहले २० हजार र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले ५० हजार एक रुपियाँ उपलब्ध गराउने घरेलु तथा साना उद्योग कार्यालयका कृष्णप्रसाद पोख्रेलले बताए । तालिमसँगै गुल्मीमा प्लास्टिकको विस्थापनको लागि झोला उद्योग खोल्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया