पूर्णांक १००, प्राप्तांक ११२

ctevtकाठमाडौं, २९ वैशाख । सामान्यतया एक सय पूर्णांक भएको विषयको परीक्षा दिएको विद्यार्थीले कति नम्बर ल्याउला ? पक्कै पनि सय नम्बर भन्दा कम । तर, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र(सिटिइभिटि)ले भने सय पूर्णांकको परीक्षा दिएका विद्यार्थीलाई १ सय १२ नम्बरसम्म दिएको छ ।
सिटिइभिटीले इन्जिनियरिङ संकायको डिप्लोमा तहको नतिजामा सय पूर्णांकको विषयको परीक्षा दिएका विद्यार्थीलाई सय भन्दा बढी नम्बर दिएर गम्भीर त्रुटि गरेको छ । आर्किटेक्चर इन्जिनियरिङ संकायको डिप्लोमा दोस्रो वर्षको दोस्रो पार्टको परीक्षाको नतिजामा सिटिइभिटीले एसियन इन्जिनियरिङ कलेज शंखमुलका दुई विद्यार्थीलाई बिल्डिङ कन्स्ट्रक्सन (तेस्रो) विषयमा पूर्णांकभन्दा बढी नम्बर दिएको पाइएको छ ।
सो कलेजकी छात्रा धर्मिसरा सुवेदीलाई १ सय १२ नम्बर छात्र दिलिप महर्जनलाई १ सय २ नम्बर दिइएको छ । मार्कसिट हेरेर विद्यार्थी मात्रै होइन, सुन्नेहरू पनि चकित परेका छन् ।
सिटिइभिटीले सो परीक्षाको नतिजामा पूर्णांकभन्दा बढी नम्बर दिने मात्र होइन पास भएका विद्यार्थीलाई फेलसमेत गरेको छ । बिल्डिङ मटेरियलको आन्तरिकतर्फ २० पूर्णांक बाहेकको ८० पूर्णांकको परीक्षामा कपी जाँच्नेले ४० पूर्णांकका आधारमा जाँचेको भन्दै सबै विद्यार्थीलाई फेल गरिएको छ ।
गत वर्ष सञ्चालन भएको परीक्षाको नतिजा सिटिइभिटीले गत ९ वैशाखमा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएपछि कलेजमा पठाइएको लेजरमा पूर्णांकभन्दा बढी नम्बर दिइएको र ८० पूर्णांकको बिल्डिङ मटेरियल विषयमा सबै विद्यार्थी फेल भएको पाइएको थियो ।
नतिजामा लापरवाही गर्दा सबै विद्यार्थी तनावमा परेको भन्दै कलेजले नतिजा सच्याउन सिटिइभिटीलाई आग्रह गरेको थियो । कलेजका प्रशासनप्रमुख रविन ढकालका अनुसार पछि सिटिइभिटीले गल्ती सच्याउँदै नतिजा पठाएको छ । सच्याइएको नतिजाअनुसार कलेजबाट  १९ जनाले परीक्षा दिएकोमा पाँच जना उत्तीर्ण भएका छन् ।
सिटिइभिटीका परीक्षा नियन्त्रक शिवशंकर घिमिरेले नतिजामा त्रुटि भएको स्विकार गरे । उनले आर्किटेक्चर संकायको नतिजामा एसियनसहित केआइटी कलेजको नतिजामा समेत त्रुटि भएको बताए । ‘कहिलेकाहीँ यस्ता त्रुटि हुने रहेछन्’, उनले भने, ‘कम्प्युटराइज सिस्टम नभएकाले नतिजामा त्रुटि हुन पुगेको हो ।’ नतिजा राख्ने क्रममा टाइप गर्दा भएको त्रुटि सिटिइभिटीले सच्याइसकेको र आगामी दिनमा यस्ता त्रुटि दोहोर्‍याउन नदिन वैज्ञानिक सिस्टम बनाउन लागेको उनले बताए ।

प्रतिक्रिया