भारतीय बजारमा कारोबार गर्न बाध्य

वीरगन्ज : पर्साको ठोरी गाविसका सर्वसाधारण भारतीय बजारमा कारोबार गर्न बाध्य भएका छन् । छिमेकी देश भारतको व्यापारिक सहर भिखनाठोरीसँग सीमा जोडिएको पर्साको अति विकट गाविस ठोरीका स्थानीयवासी आफूलाई आवश्यक पर्ने सबै सामान सोही बजारबाट ल्याउने गर्छन् ।
आफूहरूका लागि सबैभन्दा नजिकको सहर भनेकै भारतीय भिखनाठोरी बजार भएकाले पनि सोही ठाउँबाट सामान खरिद गर्ने गरेको ठोरी इच्छानगरका स्थानीयवासी रामप्रसाद ढुंगानाले बताए । त्यसो त आफूहरूले उत्पादन गरेका केही तरकारी भारतीय बजारमै बिक्री गर्ने गरेको उनले बताए । प्रस्ताविक हुलाकी राजमार्गले मूर्तरूप नलिएसम्म ठोरीवासीलाई भारतीय बजारमा भर पर्नुपर्ने बाध्यता कायमै रहने ठोरीका स्थानीय शिक्षक प्रेम लामा बताउँछन् । जिल्लाको सदरमुकाम वीरगन्ज र छिमेकी जिल्ला चितवनको सदरमुकाम भरतपुर पनि निकै टाढा भएका कारण सहज बजार अभावमा ठोरीवासीको गन्तव्य भारतीय बजार हुने गरेको उनको  भनाइ छ । ठोरी सदरमुकाम वीरगन्जबाट ६८ किलोमिटर सुदूरउत्तरमा रहेको विकट बस्ती हो । जिल्लाकै अतिविकट बस्ती भएका कारण पनि राज्यले प्रदान गर्ने सुविधाबाट आफूहरू प्रत्यक्ष मारमा परेको ठोरीका स्थानीयवासीले बताएका छन् । आफूहरूलाई आवश्यक पर्ने सामान भारतीय बजारमा खरिद गर्न जानुपर्दा आफूहरूले भारतीय पक्षको ज्यादतीसमेत झेल्नुपरेको उनीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया